Butwal Today

बाल विवाहले मानव अधिकारमा पार्ने प्रभावबारे आयोगले माग्यो दस्तावेज र अध्ययन प्रतिवेदन

१७ आश्विन २०८२, शुक्रबार
अ+
अ-

काठमान्डौ, १७ असोज ।

राष्ट्रिय मानव अधिकार आयोगले बाल विवाहले मानव अधिकारमा पार्ने प्रभावसम्बन्धी राष्ट्रिय जाँचबुझ प्रक्रियाका लागि विभिन्न प्रतिवेदन तथा दस्तावेजहरू पेस गर्न आह्वान गरेको छ ।

आयोगले बाल विवाहका कारण शिक्षा, स्वास्थ्य, हिंसाबाट सुरक्षा तथा समग्र मानव अधिकारमा पर्ने बहुआयामिक प्रतिकूल प्रभावको मूल्यांकन र समीक्षा गर्न अनुसन्धानमूलक जाँचबुझ सुरु गर्न लागेको हो ।

यसै सन्दर्भमा आयोगले नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, नागरिक समाजका संघ–संस्था, अनुसन्धानमा संलग्न निकाय तथा अन्तर्राष्ट्रिय संघरसंस्थाहरूबाट बाल विवाहसम्बन्धी अध्ययन, नीति विश्लेषण, मूल्यांकन प्रतिवेदन तथा अन्य सान्दर्भिक सूचनामूलक दस्तावेजहरू उपलब्ध गराउन सार्वजनिक रूपमा आग्रह गरेको छ ।

इच्छुक निकाय वा व्यक्तिहरूले आयोगको केन्द्रीय कार्यालय, प्रदेश तथा शाखा कार्यालयहरूमा प्रत्यक्ष उपस्थित भई वा आयोगको इमेल ठेगानामार्फत आवश्यक प्रतिवेदन तथा दस्तावेजहरू पेश गर्न सक्नेछन् ।

राष्ट्रिय मानव अधिकार आयोगले सबै सरोकारवालाहरूलाई बाल विवाहविरुद्धको अभियानमा सक्रिय सहयोग गर्न र यस अध्ययनलाई सशक्त बनाउन आग्रह गरेको छ ।