© 2026
काठमान्डौ, १७ असोज ।
जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशका प्रमुख नदीहरूमा जलसतह उल्लेख्य रूपमा बढ्ने र साना नदीहरूमा आकस्मिक बाढीको जोखिम उच्च रहने चेतावनी दिएको छ ।
शुक्रबार बिहान ८ बजे जारी गरिएको बुलेटिनअनुसार, हाल कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली तथा तिनीहरूको सहायक नदीहरू—कन्काई, कमला, पूर्वी राप्ती, बबई र पश्चिम राप्तीको बहाव सतर्कता तहभन्दा तल छ । यद्यपि, आगामी २४ देखि ७२ घण्टासम्म यी नदीहरूको जलसतहमा उल्लेख्य वृद्धि हुने प्रक्षेपण गरिएको छ ।
कोशी जलाधार अन्तर्गत सुनकोशी, तमोर, अरुण, दुधकोशी, तामाकोशी र इन्द्रावती नदीमा आज सामान्य वृद्धि देखिए पनि भोलि र पर्सि उल्लेख्य वृद्धि हुने अनुमान गरिएको छ । नारायणी जलाधार अन्तर्गत नारायणी, त्रिशुली, बुढीगण्डकी, मर्स्याङ्दी, सेती र कालीगण्डकीमा आगामी तीन दिन जलसतह उल्लेख्य रूपमा बढ्न सक्ने देखिएको छ । कर्णाली र महाकाली जलाधार अन्तर्गतका नदीहरूमा आज र भोलि सामान्य वृद्धि भए पनि पर्सि उल्लेख्य वृद्धि हुने सम्भावना छ ।
साना नदीहरूमा पनि उल्लेख्य बहाव वृद्धि हुने सम्भावना रहेकाले आकस्मिक बाढीको मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ । विशेषगरी ताप्लेजुङ, संखुवासभा, दोलखा, सिन्धुपाल्चोक, रसुवा, म्याग्दी, बागलुङ, मनाङ, गोर्खा, लमजुङ, पाल्पा, सुर्खेत, बर्दिया लगायतका जिल्लामा साना नदीहरूमा आजै बहाव उल्लेख्य रूपले बढ्न सक्ने चेतावनी दिइएको छ ।
त्यस्तै, इलाम, झापा, रामेछाप, काभ्रेपलाञ्चोक, सोलुखुम्बु, खोटाङ, धादिङ, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, नवलपरासी, कास्की, तनहुँ, स्याङ्जा, पर्वत, गुल्मी, रोल्पा, प्युठान, सल्यान, दैलेख, कालिकोट, बझाङ, दार्चुला र कञ्चनपुर जिल्लाका साना नदीहरूमा पनि आकस्मिक बाढीको मध्यम जोखिम रहने अनुमान गरिएको छ ।
महाशाखाले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही साना नदीहरूमा भोलि र पर्सि आकस्मिक बाढी आउने सम्भावना औंल्याउँदै तटीय क्षेत्रका बासिन्दा, नदी किनारमा बसोबास गर्नेहरू, सवारी साधन चालक र सरोकारवाला निकायलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।