© २०२३
काठमान्डौ, १७ असोज ।
भारत र चीनबीच पाँच वर्षको अन्तरालपछि पुनः सिधा हवाई सेवा सुरु हुने भएको छ । अक्टोबर २०२५ को अन्त्यसम्ममा सीधा उडान सुरु गर्ने सहमति दुई देशका नागरिक उड्डयन प्राधिकरणबीच भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
कोभिड–१९ महामारीपछि बन्द भएको हवाई सेवा पुनः सञ्चालनका लागि भारत र चीनबीच लामो समयदेखि छलफल चलिरहेको थियो । यसबीचमा सन् २०२० मा ग्वालवन सीमा क्षेत्रमा भएको सैन्य झडपका कारण द्विपक्षीय सम्बन्ध चिसिएको थियो, जसले हवाई सेवा पुनः सञ्चालन प्रक्रियामा ढिलाइ गराएको हो ।
सिधा हवाई सेवा पुनः सुरु भएपछि भारत र चीनबीच व्यापार, पर्यटन, पत्रकारिता तथा अन्य रणनीतिक क्षेत्रको आदानप्रदानमा नयाँ गति मिल्ने अपेक्षा गरिएको छ । सेवा सुरु भएपछि पर्यटक, व्यवसायी, सञ्चारकर्मी र अन्य यात्रुहरूको आवागमन सहज हुने विश्वास गरिएको छ ।
शंघाई सहयोग संगठन शिखर सम्मेलनको अवसरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका राष्ट्रपति सी जिनपिङबीच भएको भेटवार्तामा उडान तथा सीमा व्यापारसम्बन्धी सहकार्य विस्तार गर्ने समझदारी बनेको थियो । त्यसपछि दुवै देशका प्राविधिक टोलीहरूबीच निरन्तर वार्ता भएको थियो ।
वार्ताको मुख्य विषय सिधा उडान पुनः सुरु गर्ने र हवाई सेवा सम्बन्धी संशोधित सम्झौता गर्नेमै केन्द्रित थियो । नयाँ सहमतिअनुसार, दुवै देशका तोकिएका विमान सेवाहरूले तोकिएको गन्तव्यमा सीधा उडान सञ्चालन गर्न पाउनेछन् । यो व्यवस्था सन् २०२५ को जाडो मौसम तालिकाबाट लागू हुनेछ ।
यसैबीच, भारतको निजी विमान सेवा कम्पनी इन्डिगोले चीनतर्फ पुनः उडान सुरु गर्ने घोषणा गरेको छ । कम्पनीले अक्टोबर २६, २०२५ देखि कोलकाता–ग्वाङ्जाउबीच प्रत्यक्ष दैनिक उडान सञ्चालन गर्नेछ ।
इन्डिगोले नियामकीय स्वीकृति प्राप्त भएपछि दिल्ली–ग्वाङ्जाउ उडान पनि सुरु गर्ने योजना रहेको जनाएको छ । यी उडानहरूका लागि एयरबस ए-३२० एनईओ विमान प्रयोग गरिनेछ ।