© २०२३
काठमान्डौ, १२ असोज ।
पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्षको विजयादशमीमा सर्वसाधारणलाई टीका र जमरा नलगाउने घोषणा गरेका छन् ।
दसैँको अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै उनले राष्ट्र हाल चरम विध्वंश र शोकको अवस्थामा रहेको भन्दै पर्वलाई केवल पारिवारिक र सांस्कृतिक दायरामै सीमित गर्ने बताएका छन् ।
‘यतिखेर राष्ट्र चरम विध्वंश र शोकको स्थितिमा छ । त्यसैले पारिवारिक र सांस्कृतिक रूपमा मात्रै यो पर्व मनाउन हामी बाध्य छौँ,’ पूर्वराजाको सन्देशमा उल्लेख छ । ‘हाम्रो आम शुभेच्छुक नागरिक समुदायलाई विगतमा झैँ यस वर्ष बृहत् रूपमा टीका–जमरा प्रदान नहुने जानकारी गराउँदछौँ ।’
पूर्वराजा शाहले सबै नेपालीको आशा, आकांक्षा र अभिलाषा राष्ट्रको उत्तरोत्तर विकासमै केन्द्रित रहेको प्रष्ट पार्दै राज्य व्यवस्था र व्यवस्थापन प्रणालीलाई समयानुकूल सुधार गर्दै जनमनोभावना अनुसार अघि बढ्नु आवश्यक रहेको बताएका छन् ।
त्यस्तै, उनले विकसित हुँदै गएको आधुनिक प्रविधि र वैज्ञानिक दक्षतालाई ग्रहण गर्नुपर्नेमा जोड दिएका छन् । भौतिक विकाससँगै विश्व व्यवस्थामा बदलिँदै गएको सामाजिक संरचनालाई आत्मसात् गर्नुपर्ने आवश्यकता पनि उनले औँल्याएका छन् ।
सन्देशको अन्त्यमा पूर्वराजाले नवदुर्गा भवानीले सबैलाई दिव्यपथतर्फ अग्रसर गरून् भन्ने शुभकामना व्यक्त गरेका छन् ।