© २०२३
काठमाडौं, १० असोज ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा शान्ति कायम गर्न नयाँ २१ बुँदे योजना अघि सारेका छन् । वासिङ्टनले सार्वजनिक गरेको उक्त योजना अरब तथा मुस्लिम मुलुकका नेताहरुलाई बुझाइएको छ ।
समाचार एजेन्सी एएफपीका अनुसार, संयुक्त अरब इमिरेट्स, साउदी अरब, कतार, इजिप्ट, जोर्डन, टर्की, इन्डोनेसिया र पाकिस्तानलाई यस योजनाबारे जानकारी दिइएको छ । अमेरिकाले यो पहल इजरायलसहित सम्पूर्ण मध्यपूर्व क्षेत्रका देशहरूको चासो सम्बोधन गर्न लक्षित गरिएको दाबी गरेको छ ।
यस योजनामा गाजामा स्थायी युद्धविराम कायम गर्ने, प्यालेस्टिनी क्षेत्रमा रहेका बन्धकहरूको रिहाइ गराउने, इजरायली सेनालाई फिर्ता गराउने र मानवीय सहायता सहज रूपमा आपूर्ति गर्ने व्यवस्था समावेश गरिएको छ ।
कूटनीतिक स्रोतहरूका अनुसार, अरब तथा मुस्लिम देशका नेताहरूले अमेरिकाको यस प्रस्तावलाई सकारात्मक रूपमा लिएका छन् । उनीहरूले गाजामा जारी इजरायली सैन्य कारबाही तथा जमिन कब्जा गर्ने प्रयास अन्त्य गर्न आग्रह गरेका छन् ।
ट्रम्पका मध्यपूर्व दूत स्टिभ विटकोफले भने, “अमेरिकाले गाजामा स्थायी शान्ति स्थापनाका लागि २१ बुँदे योजना अघि सारेको छ । यो प्रस्ताव इजरायल र उसका क्षेत्रीय छिमेकी सबैका चासोलाई सम्बोधन गर्छ ।”
बैठकसँग जानकार एक स्रोतका अनुसार, प्रस्तावमा हमासलाई समावेश गरिएको छैन । अमेरिकाले गाजाका लागि नयाँ शासन संरचना प्रस्ताव गरेको छ, जसमा हमासको कुनै भूमिका रहने छैन ।
सन् २०२३ को अक्टोबरमा हमासले इजरायलमाथि आक्रमण गरेपछि सुरु भएको युद्धमा इजरायलले हमासलाई नष्ट गर्ने घोषणा गरिसकेको छ र भविष्यमा उसँग कुनै सहकार्य नहुने स्पष्ट पारेको छ ।
उक्त प्रस्तावमा प्यालेस्टिनी प्राधिकरणलाई सीमित भूमिका दिने तर त्यसलाई सुधार गर्दै नयाँ ढाँचामा पुनर्गठित गर्ने परिकल्पना गरिएको छ । साथै, क्षेत्रीय देशहरूको आर्थिक सहयोगमा नयाँ सुरक्षा बल गठन गरिने उल्लेख छ ।
नयाँ सुरक्षाबलले अरब तथा मुस्लिम देशका सेनासँग समन्वय गर्दै गाजाको पुनर्निर्माण तथा प्रशासनमा सहयोग गर्नेछ ।
यो योजना ट्रम्पका ज्वाइँ जारेड कुश्नर र पूर्व बेलायती प्रधानमन्त्री टोनी ब्लेयरले पछिल्ला महिनाहरूमा अघि सारेका अवधारणाभन्दा फरक भएको बताइएको छ ।
अरब तथा मुस्लिम नेताहरूले पश्चिम किनाराको केही भाग कब्जा गर्ने वा जेरुसेलमका पवित्र स्थलहरूको कानुनी तथा ऐतिहासिक स्थिति परिवर्तन गर्ने प्रयास नगर्ने स्पष्ट ग्यारेन्टी दिन माग गरेका छन् ।
स्रोतका अनुसार, नेताहरूले गाजावासीहरूको विस्थापन नगर्ने, उनीहरूको फिर्तीमा अवरोध नगर्ने र गाजा कब्जा नगर्ने स्पष्ट प्रतिबद्धता चाहेका छन् ।
एक्सिओसका अनुसार, ट्रम्पले पनि नेताहरूलाई आफूले इजरायललाई पश्चिम किनाराको कुनै भाग कब्जा गर्न अनुमति नदिने प्रतिबद्धता व्यक्त गरेका छन् ।