© २०२३
काठमाडौं ।
आइतबार सेयर बजार ४.४४ प्रतिशतले बढेर नेप्से परिसूचक २६२३ अंकमा पुगेको छ । अघिल्लो कारोबार दिन नेगेटिभ सर्किट ब्रेक लाग्दै ६ प्रतिशत घटेर २५११ अंकमा झरेको बजार आज १११ अंकले बढेको हो ।
आजको अंक अन्तिम १५ मिनेटको भारित औसत मूल्य गणनापछि कायम भएको छ । भारित औसत मूल्य गणनाअघि नेप्से ११६ अंकले बढेको थियो । पर्सि मंगलबारदेखि अन्तिम १५ मिनेटको भारित औसत मूल्य गणना विधि हटाइनेछ । कम्पनीहरू अन्तिम मूल्यकै आधारमा नेप्से सहित समूहगत सूचक गणना हुनेछ ।
सुरुवाती कारोबारमा बजारमा उथलपुथल भए पनि साढे ११ बजेपछि नेप्से उकालो लागेर अन्तिम समयसम्म कायम रह्यो । आज ९ अर्ब १७ करोडको कारोबार भएको छ । २२४ कम्पनीको मूल्य बढ्दा २८ कम्पनीको घटेको छ ।
निर्जीवन बीमा बाहेकका सबै सेक्टरले वृद्धि देखाएका छन् । निर्जीवन बीमा ४.०२ प्रतिशतले घटेको छ । भदौ २४ गते थुप्रै व्यवसायिक प्रतिष्ठान, भवन, निजी घर तथा सवारी साधनमा आगजनी भएपछि निर्जीवन बीमा कम्पनीहरूको दायित्व बढेसँगै यो सेक्टरमा नकारात्मक प्रभाव परेको हो ।
व्यापार समूह ८.६६ प्रतिशतले सबैभन्दा बढी बढेको छ । अन्य सेक्टरको वृद्धिदर यस प्रकार छ : बैंकिङ ४.५२, विकास बैंक ६.०७, फाइनान्स ५.५४, होटल तथा पर्यटन २.३३, हाइड्रोपावर ५.८३, लगानी ७.६८, जीवन बीमा ५.६६, उत्पादन तथा प्रशोधन ४.८५, माइक्रोफाइनान्स ३.६९ र अन्य १.५३ प्रतिशत ।
डेढ दर्जन कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ । १० प्रतिशत मूल्य बढेका कम्पनीमा शिवम् सिमेन्ट, जोशी हाइड्रोपावर, सिन्धु विकास बैंक, भूगोल इनर्जी, गुडविल फाइनान्स, अपी पावर, आँखुखोला जलविद्युत्, बलेफी हाइड्रोपावर, हिमाल दोलखा हाइड्रोपावर, ग्रिन डेभलपमेन्ट बैंक, सप्तकोशी विकास बैंक, हिमस्टार ऊर्जा कम्पनी, माथिल्लो तामाकोशी, कर्पोरेट डेभलपमेन्ट बैंक, नेसनल हाइड्रोपावर, शिवश्री हाइड्रोपावर, रिडी पावर र सिक्लेस हाइड्रोपावर रहेका छन् ।
मूल्य धेरै घट्नेमा आज निर्जीवन बीमा कम्पनीहरू अगाडि रहेका छन् । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स ७.६४, हिमालयन एभरेस्ट इन्स्योरेन्स ५.६६, राष्ट्रिय बीमा कम्पनी ५.५९, सगरमाथा लुम्बिनी इन्स्योरेन्स ५.०५ प्रतिशतले घटेको छ । त्यस्तै, तारागाउँ रिजेन्सी ४.८७ र नेको इन्स्योरेन्स ४.५७ प्रतिशतले घटेको छ ।
आज धेरै कारोबार भएका कम्पनीमा नेपाल पुनर्बीमा, हिमालयन रिइन्स्योरेन्स, गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स, शिवम् सिमेन्ट र हिमालयन डिस्टिलरी अग्रस्थानमा रहेका छन् ।