Butwal Today

नेपालमा अब अन्तर्राष्ट्रिय कार्डमार्फत पनि राजस्व भुक्तानी सम्भव

२ आश्विन २०८२, बिहीबार
अ+
अ-

काठमाडौं, २ असोज ।

 नेपालमा अब अन्तर्राष्ट्रिय कार्ड नेटवर्क प्रयोग गरेर समेत राजस्व भुक्तानी गर्न सकिने भएको छ । अर्थ मन्त्रालयले राजस्व व्यवस्थापन सूचना प्रणाली (आरएमआईएस) मार्फत अन्तर्राष्ट्रिय भुक्तानी प्रणालीको अन्तर आबद्धता सुरु गरेको छ ।

नयाँ प्रणालीको सुरुवात अर्थमन्त्री रामेश्वर खनाल र मुख्यसचिव एकनारायण अर्यालले संयुक्त रूपमा गरेका हुन् । यस सेवाबाट विशेषगरी विदेशमा रहेका करदाताहरू र नेपाल भ्रमणमा आउने पर्यटक लाभान्वित हुने अर्थ मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार, इन्टरनेसनल कार्ड नेटवर्कको अन्तर आबद्धतापछि राजस्व भुक्तानी प्रक्रिया पूर्णतः पेपरलेस र फेसलेस बनेको छ । सेवा २४ घण्टा उपलब्ध हुनेछ भने राजस्व संकलन प्रक्रिया अझ द्रुत, पारदर्शी, अन्तर्राष्ट्रिय पहुँचयुक्त र सेवाग्राहीमैत्री हुने मन्त्रालयको दाबी छ ।

मन्त्रालयले यस कदमले नेपालमा डिजिटल अर्थतन्त्रको प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरेको छ ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार, मास्टरकार्ड, भिसा कार्ड, अलीपे लगायतका अन्तर्राष्ट्रिय कार्ड नेटवर्कमार्फत अब अध्यागमन विभागले निर्धारण गरेको सेवाहरूको भुक्तानी गर्न सकिनेछ ।

यसले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशका प्रमुख प्रवेश विन्दुहरूबाट नेपाल प्रवेश गर्ने पर्यटकहरूलाई सहज बनाउनेछ ।

हाल यो सेवा अध्यागमन विभाग तथा यसअन्तर्गतका निकायहरूबाट उठाइने राजस्वमा सीमित गरिएको छ। तर, आगामी दिनमा अन्य सरकारी निकायहरूमा समेत विस्तार गरिने मन्त्रालयले जनाएको छ ।