© २०२३
गुल्मी, २ असोज ।
लगातार वर्षाको कारण अवरुद्ध बनेको कालीगण्डकी करिडोर सडक र मदनभण्डारी राजमार्ग सञ्चालनमा आएको छ ।
कालीगण्डकी करिडोर सडकको गुल्मीखण्ड अन्तर्गत कालीगण्डकी गाउँपालिका –२ स्थित राक्सेमा सडक माथिबाट पहिरो खसेपछि बुधवार बिहानदेखि उक्त सडक पूर्ण रूपमा अवरुद्ध बनेको थियो । स्थानीय सडक निर्माण कम्पनी कालीका कन्स्ट्रक्सन र कालीगण्डकी गाउँपालिकाद्वारा डोजर र स्काभेटरको माध्यमबाट सडकमा थुप्रिएको पहिरो पन्छाएपछि आज बिहानबाट उक्त सडक पूर्ण रूपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवं प्रहरी नायव उपरिक्षक गंगा बहादुर सारूले जानकारी दिएका छन् ।
त्यसै गरी बुधवार बिहानदेखि अवरुद्ध बनेको मदनभण्डारी राजमार्ग पनि आज बिहानबाट सञ्चालनमा आएको छ । उक्त सडक अन्तर्गत गुल्मीको रिडी–तम्घासखण्डको रुरुक्षेत्र गाउँपालिका –३ स्थित सल्लेरीमा पहिरो गएपछि सडक पूर्ण रूपमा अवरुद्ध बनेको थियो । सडक सुचारु भएसँगै बुधवार बिहानदेखि त्यस क्षेत्रमा दुवैतर्फ रोकिएका सवारी साधनहरू आआफ्नो गन्तव्यतिर जान थालेको प्रहरीले जनाएको छ ।
जिल्लामा गत तिन दिनदेखि लगातार रूपमा परेको वर्षा आज बिहानबाट रोकिएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीले वर्षाका कारण विपतजन्य जोखिम हुनसक्ने भन्दै पहिरो ग्रस्त र खोलाटटीय क्षेत्रका नागरिकहरूलाई सचेत रहन आग्रह गर्दै आइरहेको छ ।