© २०२३
बुटवल, १ असोज ।
सुशासन र भ्रष्टाचारमुक्त राष्ट्र निर्माणका लागि गरिएको जेन्जी आन्दोलनमा ज्यान गुमाएका मृतकप्रति बुटवलमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ । रागश्री संगीतालय परिवारको आयोजनामा बुटवल मिलनचोकस्थित हाइबेमा दीप प्रज्वलन, मौनधारण र श्रद्धाञ्जली गीतमार्फत दिवंगत आत्माहरूलाई सम्झना गरिएको हो । कार्यक्रममा सहभागीहरूले मैनबत्ती बाल्दै आन्दोलनमा ज्यान आहुति दिने युवाप्रति सम्मान प्रकट गरेका थिए ।
श्रद्धाञ्जली कार्यक्रममा संगीतालय परिवारका संचालक सुरेश सेन्चुरीले अहिलेको आन्दोलनबाट देशमा सुशासन र पारदर्शिताको आवश्यकता थप स्पष्ट बनाएको बताए । “देशमा परिवर्तन ल्याउने क्रममा ज्यान गुमाउने युवाको बलिदान व्यर्थ हुन दिनुहुन्न, उनीहरूको सपना पुरा गर्न सबै नागरिकले आफ्नो भूमिका निर्वाह गर्नुपर्छ,” –उनले भने ।
कार्यक्रममा स्थानीय समाजसेवी, कलाकार, विद्यार्थी तथा नागरिकको उल्लेख्य सहभागिता रहेको थियो । मृतकको सम्झनासँगै न्याय, समानता र पारदर्शिता सुनिश्चित गर्नेतर्फ सरकार लाग्नुपर्ने देखिन्छ । कार्यक्रममा श्रद्धाञ्जली गीत प्रस्तुत गरिरहदा धेरै सहभागीले आँसु झारे । भ्रष्टाचारविरुद्धको संघर्ष केवल आन्दोलनमा सीमित नराखी दैनिक जीवनशैली र राजनीतिक संस्कारमा पनि देखिनुपर्ने समय आएको उनिहरुको भनाई छ ।