Butwal Today

कर तिर्ने समयावधि एक महिना थप

१ आश्विन २०८२, बुधबार
अ+
अ-

काठमान्डौ, १ असोज ।

सरकारले साउन महिनाको कर तिर्ने समयावधि एक महिना थप गरेको छ ।

कानूनी प्रावधानअनुसार हरेक महिनाको कर आगामी महिनाको २५ गतेभित्र बुझाउनुपर्ने व्यवस्था भए पनि यसपटक असाधारण परिस्थिति सिर्जना भएकाले समय सीमा बढाइएको आन्तरिक राजस्व विभागका महानिर्देशक मदन दाहालले जानकारी दिए ।

मूल्य अभिवृद्धि कर (भ्याट), अन्तःशूल्कलगायत करहरू नियमित रूपमा महिनाको २५ गतेभित्र सम्बन्धित कर कार्यालयमा बुझाउनुपर्ने कानूनी व्यवस्था छ । तर, हालको राजनीतिक अस्थिरता र जेनजी आन्दोलनका कारण उद्योगी–व्यवसायी तोकिएको म्यादभित्र कर बुझाउन नसकेको भन्दै अर्थमन्त्री रामेश्वरप्रसाद खनालसँग सहजीकरणका लागि आग्रह गरेका थिए ।

उद्योगी–व्यवसायीको मागअनुसार अर्थमन्त्री खनालले कर बुझाउने समयावधि एक महिना थप गर्ने निर्णय गर्नुका साथै सार्वजनिक तथा निजी क्षेत्रमा पुगेको क्षतिको पुनर्निर्माणका लागि विशेष कोष खडा गर्ने तयारी भइरहेको जानकारी दिएका छन् ।