© २०२३
चन्द्रौटा (कपिलवस्तु), २४ मंसिर ।
लुम्बिनी प्रदेशसभा सदस्य अर्जुन कुमार केसीले सहकारीको लगानी उत्पादन मुलक क्षेत्रमा गर्नुपर्ने बताएका छन् । शनिबार अरनिको बचत तथा ऋण सहकारी संस्थाको पाचौं अधिवेशन तथा १३ औँ बार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
विलासिताका वस्तु लगायत गरगहना किनेर कहिल्यै आत्मनिर्भर बन्न नसकिने बताउँदै समाजलाई उत्पादनमुखी पेसासँग जोडन प्रत्येक व्यक्ति उत्पादनमुखी बन्नुपर्ने केसीले बताए । सहकारी तथा बैंकहरुबाट ऋण लिने छोराको बिहे गर्ने समाजको परिपाटी रहेको बताउँदै सहकारीले कृषि तथा उत्पादनमूलक क्षेत्रमा लगानी लगाउन आवश्यक रहेको जिकिर गरे । आर्थिक पाटोलाई अगाडि ल्याउनु पर्ने जनाउँदै देशको आर्थिक विकासका लागि सहकारीले ठूलो योगदान गरेको उनले बताए ।
यसैबीच शिवराज नगरपालिका उप–प्रमुख शिव कुमारी थारुले उत्पादनमा आधारित रहेर सहकारीको माध्यमबाट महिलाहरु सशक्त बनाउने बताइन् । सहकारीले महिला उद्धमी बन्न सहयोग गरेको बताउँदै आगामी दिनमा सहकारीले कृषि क्षेत्रमा मलखाद दुध डेरी लगायत अन्य क्षेत्रमा पनि काम गदै जानुपर्ने बताइन् ।
यस्तै चेम्बर अफ कमर्शका केन्द्रीय सदस्य महादेव पोखरेल, उद्योग वाणिज्य संघ चन्द्रौटाका अध्यक्ष ईश्वरी प्रसाद पाण्डे लगायतले सभालाई सम्बोधन गरेका थिए । गत आर्थिक बर्षमा १३ करोड बढीको कारोबार गरेको साथै ६ सय ९६ सदस्य रहेको समेत सहकारीको प्रतिवेदनमा उल्लेख छ ।
अधिवेशन तथा साधारण सभाको अवसर पारेर शिवराज नगरपालिका वडा नं. ५ सहजटोल स्थित संस्थाको नवनिर्मित भवनको उत्घाटन समेत सदस्य केसीले गरेको सहकारीले जनाएको छ । कार्यक्रममा अध्यक्ष नारायण भाटले संस्थाको प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष नमराज पौडेलले अर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।