Butwal Today

कतारमा नेपाली श्रमिकका लागि सामाजिक सुरक्षा तथा जनचेतनामूलक कार्यक्रम 

२८ भाद्र २०८२, शनिबार
अ+
अ-

दोहा (कतार) २८ भदौ ।

नेपाली श्रमिक कल्याणकारी सङ्घ कतारले शुक्रबार “जनचेतनामूलक कार्यक्रम २०२५“ भव्य रुपमा सम्पन्न गरेको छ । कार्यक्रमले कतारमा कार्यरत नेपाली श्रमिकहरूलाई स्वास्थ्य, सामाजिक सुरक्षा, साइबर सुरक्षा र कानुनी ज्ञानमा अभिवृद्धि गर्ने उद्देश्य राखेको थियो ।

कार्यक्रमको अध्यक्षता सङ्घका अध्यक्ष गंगा श्रेष्ठले गरेका थिए भने समाजका संरक्षक तिल विक्रम मगरले कार्यक्रमको उदघाटन गरेका थिए । कार्यक्रममा विभिन्न क्षेत्रका विज्ञहरूले श्रमिकहरूलाई उपयोगी जानकारी प्रदान गरेका थिए ।

राष्ट्रिय मानव अधिकार प्रशिक्षक हमिद खानले कतारमा श्रमिकहरूले साथमा राख्नुपर्ने पाँच अत्यावश्यक कागजात—कम्पनीको कन्क्ट्रयाक्ट पेपर, कतार आइडी, बैंक कार्ड, हेल्थ कार्ड र भ्यालु राखिएको पासपोर्ट—बारे जानकारी दिए । साथै उनले श्रमिकहरूलाई यी महत्वपूर्ण कागजातहरू सामाजिक सञ्जालमा नपोस्ट गर्न आग्रह गर्दै, कानुनी जोखिमका विषयमा सचेत गराए ।

ट्राफिक नियम सम्बन्धी जानकारी दिँदै उनले सवारी साधन चलाउँदा सिट बेल्ट अनिवार्य रूपमा लगाउने, ओभर स्पिड नगर्ने र मोबाइल प्रयोग नगर्नु पर्ने बताए । नियम पालना नगरेमा जरिवानासमेत हुन सक्ने उनले बताए ।

स्वास्थ्य प्रशिक्षक सन्जु तामाङले दैनिकीमा स्वस्थ जीवनशैलीको अभ्यास गर्न आग्रह गर्दै ‘रोग लागेर उपचार गर्नु भन्दा रोग नलाग्नै दिनु राम्रो’ भन्ने सन्देश दिइन् । उनले बिहान बेलुकाको खानामा प्राकृतिक खाना, सिजनअनुसार फलफूल, गेडागुडी र सागपात समावेश गर्न सुझाव दिइन् ।

साइबर सुरक्षा प्रशिक्षक सन्दीप सहनीले डिजिटल युगमा साइबर अपराधको जोखिमबारे जानकारी दिँदै, श्रमिकहरूलाई सजग रहन आग्रह गरे। उनले साइबर अपराधीहरूबाट हुने डेटा चोरी, अनधिकृत पहुँच, र सामाजिक सञ्जाल दुरुपयोगका जोखिमबारे सचेत गराए ।

प्रशिक्षक हमिद खान र निशा पराजुलीले श्रमिकहरूलाई कतारको नियम कानुन सम्बन्धी प्रश्नोत्तर सत्र सञ्चालन गर्दै सही उत्तर दिने श्रमिकहरूलाई आकर्षक पुरस्कार प्रदान गरेका थिए ।

प्रमुख अतिथि तिल विक्रम मगरले कार्यक्रम सफल पार्न योगदान गर्ने सम्पूर्ण प्रशिक्षक र सहभागीहरूलाई धन्यवाद दिँदै नयाँ श्रमिकहरूलाई कतारको कानुन र नियमको सम्मानपूर्वक पालना गर्न अनुरोध गरे । उनले सङ्घको मूल नारा “श्रमिकका लागि श्रमिक” सम्झाउँदै, सङ्घ सन् २०१९ देखि नै श्रमिकहरूको हक–हितका लागि समर्पित रहेको बताए ।

त्यस अवससरमा कार्यक्रम संयोजक सुरज शाही, महासचिव सन्दीप सहनीलगायतले पनि आ–आफ्नो धारणा राखेका थिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?