© २०२३
काठमाडौँ ।
नेपालमा भएको जेनजी आन्दोलनको चर्चा विश्वभर फैलिएको छ । छिमेकी भारत र चीनसँगै अन्तर्राष्ट्रिय मिडियाहरूले पनि यस घटनालाई प्राथमिकताका साथ प्रकाशित र प्रसारण गरिरहेका छन् ।
जेनजी आन्दोलनपछि विश्वका विभिन्न देशमा विपक्षी पक्षहरूले सरकारलाई नेपाल जस्तो अवस्था हुनसक्ने चेतावनी दिन थालेका छन् । बंगलादेश र श्रीलंकामा भएका आन्दोलनलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै नेपालका जेनजी समर्थकहरूले पनि यस्तै चेतावनी दिने गर्दथे ।
भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनले ती चेतावनीलाई वास्तविकतामा परिणत गरेको छ ।
भारतमा पनि विपक्षी दलहरूले सामाजिक सञ्जालमा नेपालको घटना उदाहरणका रूपमा प्रयोग गर्दै सरकारलाई सतर्क रहन चेतावनी दिएका छन् ।
शुक्रबार विपक्षी गठबन्धनले एक्स (पूर्व ट्विटर) मा लेखेको छ, “यदि नेपालजस्तै भारतमा पनि नेतालाई कुटाइ सुरु भयो भने सबैभन्दा बढी लात कसले खान्छ, नडराई बोल्नुस् ।”
जेनजी आन्दोलन भएको दिन विहारका विपक्षी नेता तेजस्वी यादवले भनेका थिए, “नेपालको नजिक छ बिहार । डराएको होइन, सम्झाएको हो निर्वाचन आयोगलाई ।”
भारतकी अधिवक्ता नाजनिम अख्तरले पनि प्रतिक्रिया दिएकी छिन्, “त्यो दिन टाढा छैन, जब यस्तो हालत भारतमा हुनेवाला छ । फेरि झोला उठाएर भाग्ने मौका पनि प्राप्त हुँदैन ।”
नेपालमा भएको घटनाका कारण भारतमा सुरक्षा व्यवस्था कडा गरिएको छ र राजनीतिकर्मीदेखि युवासम्म सबैले यस घटनालाई नजिकबाट अध्ययन गरिरहेका छन् ।