© 2026
काठमाडौं, २६ भदौ ।
मुलुकमा उत्पन्न पछिल्लो राजनीतिक परिस्थितिका कारण अन्तर्राष्ट्रिय सीमा नाका बन्द हुँदा आयात–निर्यात पूर्ण रूपमा ठप्प भएको छ । यातायात सेवा अवरुद्ध भएपछि देशभित्रै पनि सार्वजनिक तथा मालवाहक सवारीसाधन सञ्चालन हुन सकेका छैनन् ।
भन्सार विभागका निर्देशक तथा सूचना अधिकारी किशोर बर्तौलाका अनुसार भारत र चीन दुवैतर्फ जाँचपास प्रक्रिया अवरुद्ध भएको छ । “हाल कुनै पनि नाकाबाट सामान भित्रिने वा बाहिरिने प्रक्रिया अघि बढ्न सकेको छैन,” उनले जानकारी दिए ।
भारतीय सीमा सुरक्षा बलले नेपालबाट भारत प्रवेश गर्न खोज्ने नेपाली यात्रुहरूलाई अधिकांश स्थानमा रोक लगाएको छ । यसले आवश्यक वस्तुहरूको आपूर्ति श्रृंखलामा समेत असर परेको छ ।
निकटिँदै गरेका चाडबाडहरू दशैं, तिहारका लागि आवश्यक सामग्रीको अभाव हुने संकेत देखिन थालेको छ । विशेषगरी भदौ महिनामा अन्तर्राष्ट्रिय व्यापार बढ्ने गर्दछ, किनभने यहीं समय दशैं तिहार लक्षित सामग्रीहरूको आयात हुने गर्दछ ।
चीनतर्फका नाकामध्ये रसुवागढी नाकामा मितेरी पुल निर्माण नभइसकेको र नाका जोड्ने सडक पूर्ण रूपमा सञ्चालनमा नआएको जनाइएको छ। तातोपानी नाकाको अवस्थासमेत सहज छैन । भारततर्फका सीमा नाकाहरूमा पनि नियमित मालवाहन रोकिएको छ ।
यसैबीच, राष्ट्रिय यातायात व्यवसायी महासंघले पर्याप्त सुरक्षा प्रत्याभूति नभएसम्म सार्वजनिक तथा मालवाहक सवारीसाधन सञ्चालन गर्न नसकिने स्पष्ट पारेको छ । महासंघले देशभरका व्यवसायीहरूलाई आवश्यक सतर्कता अपनाउन समेत आग्रह गरिसकेको छ ।
स्थिति यथास्थितिमा रहने हो भने चाडबाडमा जनतालाई दैनिक उपभोग्य सामग्रीदेखि उपहार र कपडासम्ममा अभाव झेल्नुपर्ने जोखिम देखिएको छ ।