© २०२३
काठमाडौं ।
जेनजी आन्दोलनका कारण उत्पन्न अस्थिर परिस्थितिमा प्रमुख राजनीतिक दलका नेताहरू नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सुरक्षा घेरामा विभिन्न स्थानमा राखिएका छन् । आन्दोलन चर्किएपछि नेताहरूलाई आफ्ना निवासबाट सुरक्षित स्थानमा सारिएको हो ।
सुरक्षा निकाय स्रोतका अनुसार कार्यवाहक प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई काठमाडौंको शिवपुरीस्थित आर्मी स्टाफ कलेजमा राखिएको छ । मंगलबार प्रधानमन्त्री पदबाट राजीनामा दिएका ओलीलाई त्यसै दिन हेलिकप्टरमार्फत शिवपुरी लगिएको थियो ।
बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आगलागी भएपछि उनी सुरक्षाकर्मीहरूको साथमा बाहिरिएका थिए । उनका एक सुरक्षा अधिकारीले जानकारी दिएअनुसार उनी अहिले शिवपुरीस्थित सेनाको ब्यारेकमा आश्रित छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि शिवपुरीको सेनाको तालिम केन्द्रमै छन् । माओवादी निकट स्रोतका अनुसार उनी काठमाडौँ उपत्यकाको सबैभन्दा सुरक्षित भनिएको स्थानबाट कांग्रेस, एमाले र एकीकृत समाजवादीका नेताहरूसँग अनौपचारिक संवादमा संलग्न छन् । पार्टीभित्र चाँडै नै भावी कदमबारे निर्णय लिने तयारी भइरहेको जनाइएको छ ।
पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, झलनाथ खनाल, एमाले उपाध्यक्ष विष्णु पौडेल र कांग्रेस नेता प्रकाशमान सिंह पनि हाल शिवपुरीको सेनाको तालिम केन्द्रमा राखिएका छन् । ती नेताहरू ओली नेतृत्वको सरकारमा मन्त्री रहेका थिए ।
कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणा देउवालाई सेनाले बूढानीलकण्ठस्थित निवासबाट उद्धार गरी सुरक्षित स्थानमा सारेको छ ।
देउवाका निजी सचिवालयका उपसचिव भानु देउवाका अनुसार देउवा दम्पतीमाथि प्रदर्शनकारीहरूले आक्रमण गरेका थिए, जसपछि उनीहरूलाई तत्काल उद्धार गरिएको थियो । देउवा हाल काठमाडौंस्थित अस्पतालमा उपचाररत छन् र उनको स्वास्थ्यमा सुधार भइरहेको छ ।
यसैबीच, माओवादी नेता नारायणकाजी श्रेष्ठको हात्तीवनस्थित निवासमा तोडफोड भएपछि उनलाई पनि सुरक्षित स्थानमा सारिएको छ ।
राजनीतिक रुपमा चुलिएको अस्थिरताको बीचमा दलहरूबीच अनौपचारिक संवाद सुरु भएको छ । नेताहरूले आ–आफ्ना सम्पर्क माध्यममार्फत संवाद अघि बढाउन थालेका छन् । उनीहरूले संविधानको दायराभित्र रहेर जेनजी आन्दोलनको मागबारे छलफल गर्नुपर्ने निष्कर्षमा पुग्न थालेका छन् ।
कांग्रेस र एमालेले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै शान्तिपूर्ण संवादमार्फत संवैधानिक निकास खोज्नुपर्नेमा जोड दिएका छन् ।
कांग्रेस महासचिव गगनकुमार थापा, विश्वप्रकाश शर्मा र प्रवक्ता प्रकाशशरण महतले जारी गरेको विज्ञप्तिमा संयम, संवाद र एकताको बाटो अपनाउँदै युवा पुस्ताको भावना सम्बोधन गर्नुपर्ने उल्लेख गरिएको छ ।
विज्ञप्तिमा कानुनी शासन र लोकतन्त्रको विकल्प नभएको स्पष्ट पार्दै सबै दलहरूलाई विश्वास र भरोसाका साथ अघि बढ्न आग्रह गरिएको छ । कांग्रेसले लोकतान्त्रिक पुनर्संस्थापनाको लागि राष्ट्रपतिको नेतृत्वमा हुने संवादमा सक्रिय पहल गर्ने प्रतिबद्धता जनाएको छ ।
यता, एमाले महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवालीले जारी गरेको विज्ञप्तिमा संविधान निर्माणमा नसमेटिएका युवा पुस्ताका मागहरूलाई संवैधानिक विधिबाट सम्बोधन गर्न राष्ट्रपतिको ध्यानाकर्षण गराइएको छ ।
प्रधानमन्त्रीको राजीनामापछि उत्पन्न परिस्थितिको समाधान लोकतान्त्रिक र संवैधानिक प्रक्रियाबाट खोजिनु पर्ने उनीहरूको भनाइ छ । विज्ञप्तिमा लोकतान्त्रिक गणतन्त्र र प्रतिस्पर्धात्मक प्रणालीलाई कुनै हालतमा कमजोर पार्न नहुने उल्लेख गरिएको छ ।
माओवादी उपमहासचिव जनार्दन शर्माले पनि प्रेस विज्ञप्ति जारी गर्दै संविधानको रक्षा गर्न नसकिएमा वैधानिकताको अन्त्य हुन सक्ने चेतावनी दिएका छन् । उनले कानुनी बाटोबाट समाधान खोज्न आग्रह गर्दै राष्ट्र र राष्ट्रियताको अवस्था थप जटिल बन्दै गएको बताएका छन् ।
यसरी देश राजनीतिक संक्रमणको जटिल मोडमा उभिँदा प्रमुख दलका नेताहरू सुरक्षित स्थानबाट संवादको प्रक्रिया अघि बढाउँदै छन् । आन्दोलनकारीहरूको माग संविधानको दायरामा रहेर सम्बोधन गर्नुपर्छ भन्नेमा दलहरूबीच प्रारम्भिक सहमति देखिएको छ ।
अबको निकास संविधान, शान्ति र समावेशी संवादमै निर्भर हुने देखिन्छ ।