© २०२३
२६ भदौ, काठमाडौं ।
अन्तरिम सरकारको नेतृत्वका लागि नेपाली सेनाको समन्वयमा राष्ट्रपति रामचन्द्र पौडेल र जेनजी युवा प्रतिनिधिहरूबीच आज निर्णायक छलफल हुने भएको छ ।
जेनजी प्रतिनिधिहरूले अन्तरिम सरकारको नयाँ प्रधानमन्त्रीको रूपमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम टुंगो लगाइसकेका छन् र आजको छलफलले यसलाई औपचारिकता दिने अपेक्षा गरिएको छ ।
नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानन्यायाधीश अशोकराज सिग्देलले जेनजी प्रतिनिधिहरूसँग बिहीबार बिहानदेखि छलफल जारी राख्ने बताए । उनले सो छलफलले आज नै निकास निकाल्ने विश्वास व्यक्त गरेका छन् ।
भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध युवाहरूले गरेको प्रदर्शनमा १९ जनाको ज्यान गएको थियो, जसपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए। जेनजी युवाहरूको मागअनुसार ताजा जनादेशका लागि अन्तरिम सरकार गठन प्रक्रिया अघि बढाइएको हो ।
जेनजीबाट प्रस्तावित पूर्वप्रधानन्यायाधीश कार्कीलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पनि समर्थन जनाइसकेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै कार्कीको नाममा समर्थन रहेको जानकारी दिएका छन् ।
नेपाली सेनाका प्रधानसेनापति सिग्देलले सबै पक्षको कुरा सुन्ने उद्देश्यले जेनजी युवाका प्रतिनिधिहरू, धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ, दुर्गा प्रसाईं लगायतसँग पनि छलफल गरेका थिए ।
हर्क साम्पाङले पनि सुशीला कार्कीलाई समर्थन रहेको जनाएका छन् भने प्रसाईंले देशले निकास पाउने गरी जसको नेतृत्वमा सरकार बने पनि स्वीकार्ने अभिव्यक्ति सार्वजनिक गरेका छन् ।
जेनजी युवाहरूले भर्चुअल माध्यमबाट व्यक्त गरेको मतमा सुशीला कार्कीको नाममा व्यापक समर्थन देखिएको थियो । कार्कीले पनि अन्तरिम सरकारको नेतृत्व गर्न जेनजीले राखेको प्रस्ताव स्वीकार गर्ने बताइसकेकी छन् ।