Butwal Today

भारतको प्रतिक्रिया : नेपालका पछिल्ला घटनाक्रमलाई ध्यानपूर्वक नियाल्दैछौँ

२४ भाद्र २०८२, मंगलवार
अ+
अ-

 काठमाडौं, २४ भदौ ।

भारतले नेपालमा विकसित पछिल्लो राजनीतिक तथा सामाजिक घटनाक्रमलाई नजिकबाट नियालिरहेको जनाएको छ ।

मंगलबार भारतीय विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै जेनजीको आन्दोलनका क्रममा भएको प्रहरी दमन र त्यसमा परी युवाहरूको मृत्यु भएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको हो ।

विज्ञप्तिमा भनिएको छ, “हामी नेपालमा हिजोदेखि देखिएका घटनाक्रमलाई ध्यानपूर्वक नियालिरहेका छौं । अनेकौं युवा जीवनको क्षतिबाट हामी गहिरो दुःखी भएका छौं ।

मृतकका परिवारप्रति हाम्रो समवेदना छ भने घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं ।”

भारतले नेपालसँगको मित्रता र छिमेकीपनलाई जोड दिँदै संयमता अपनाउन तथा समस्याहरूलाई शान्तिपूर्ण संवादमार्फत समाधान गर्न सबै पक्षलाई आग्रह गरेको छ ।

यस्तै, काठमाडौंसहितका शहरहरूमा कर्फ्यू आदेश जारी भएको उल्लेख गर्दै नेपालमा रहेका भारतीय नागरिकलाई सतर्क रहन र स्थानीय प्रशासनले जारी गरेका निर्देशन पालना गर्न मन्त्रालयले आग्रह गरेको छ ।

सामाजिक सञ्जाल बन्द र शासकीय अव्यवस्थाविरुद्ध जेनजी युवाहरूले थालेको प्रदर्शनमा प्रहरीले दमन गर्दा अहिलेसम्म १९ जनाको मृत्यु भएको छ भने ४०० भन्दा बढी घाइते भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?