© 2026
काठमाडौं, २४ भदौ ।
कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले पदबाट राजीनामा दिएका छन् । जेन–जीले हिजो गरेको प्रदर्शनमा सुरक्षाकर्मीको दमन र युवामाथि भएको हत्या हिंसाप्रति आक्रोश व्यक्त गर्दै उनले राजीनामा घोषणा गरेका हुन् ।
अधिकारीले सामाजिक सञ्जालमार्फत राजीनामाको घोषणा गर्दै लेखेका छन्, “यसको जवाफ नखोजी सत्तामा बस्नु मेरा लागि सह्य भएन ।
स-साना कलिला छोराछोरीको हत्या र दमनले देशलाई शोकाकुल बनाइरहेको बेला सरकारमा बसिरहनु मेरो नैतिकता र मेरो दलले दिएको शिक्षाको खिलाफ हुने चेतावनी मेरो अन्तरात्माले दिएको छ ।
त्यसैले पदीय जिम्मेवारीमा टाँसिइरहनु अपराध हुने भएकोले देश र जनतासमक्ष नैतिक रूपमा क्षमा माग्दै मन्त्री पदबाट राजीनामा दिएको जानकारी गराउँछु ।”
उनले लोकतन्त्रमा प्रश्न सोध्नु र शान्तिपूर्ण विरोध गर्नु नागरिकको प्राकृतिक अधिकार भए पनि त्यसको साटो व्यापक दमन र हत्या गरिएको आरोप लगाए ।
देश निर्माणमा सहकार्य गर्नुपर्ने पुस्तासँग युद्धजस्तो व्यवहार गरिएको भन्दै उनले यसको जवाफ खोजिनुपर्ने पनि बताए ।