© 2026
काठमाडौँ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदरभन्दा दक्षिणतिर र पूर्वतर्फ सरदर स्थानको आसपास अवस्थित छ ।
यसको प्रभावले सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा सामान्य बदली रही बाँकी क्षेत्रमा आंशिक बदली रहेको छ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
आज दिउँसो कोशी, मधेसलगायत देशका पहाडी भूभागमा सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रहनेछ । यस अवधिमा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा, मधेस प्रदेश र अन्य पहाडी तथा तराई भूभागका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ । साथै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ ।
आज राति देशभर सामान्य बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा र अन्य पहाडी तथा तराई भूभागका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ । सोही प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमानसमेत महाशाखाले गरेको छ ।
महाशाखाले भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।