© २०२३
नेपालगन्ज, २२ भदौ ।
नेपालगन्जको बिपी चोकदेखि प्रतिस्पर्धाबाट ‘गोल्डेन ग्रान्ड माँ– डौडिन्छन् हजुरआमा’ को उपाधि ५४ वर्षीया धनसरा बुढाले जित्न सफल भइन् । नेपालगन्ज उपमहानगरपालिका–२० नयाँ बस्ती थपुवाकी धनसराले दौड सुरु भएको केही मिनेटमै आफ्नो ताल र गति समातिन् ।
घरमा भैँसी, बाख्रा पाल्दै, घाँस दाउरा गर्दै, कहिल्यै आराम गर्न नपाउने उनको दैनिक जीवन नै यो जीतको आधार बनेको जस्तो देखिन्थ्यो । धनसरा भन्छिन्, “मैले त जिन्दगीमै पहिलो पटक यस्तो दौडमा भाग लिएँ । घरमा त नातिनातिनासँग खेल्दै, पशुपालन गर्दै समय बित्छ ।
तर आज उपाधि हात पार्दा म अझै बलिया छु जस्तो लाग्यो । अब मेरा नातिनातिनाले पनि हजुरआमाले जितेको उपाधि देखेर गर्व गर्लान् ।” धनसराको पाँच जना नातिनातिना छन् ।
उनीहरूलाई सम्हाल्नेदेखि गोठालो गर्नेसम्मका जिम्मेवारी पूरा गर्दै आएको उनको जीवनमा, उपाधि जित्नु केवल व्यक्तिगत सफलता मात्र नभई मेहनत गर्ने आम नेपाली ग्रामीण महिलाको प्रतिनिधित्व पनि हो ।
प्रतियोगितामा दोस्रो स्थान पाएकी नन्दमाया ओली अझै भावुक थिइन् । उनका घरमा १२ जना नातिनतिना छन् । बिहान बेलुकी उनीहरूलाई स्याहार्ने, खेतबारी गर्ने, गोठालो गर्ने उनको दैनिकी हो । “जीवनमा पहिलो पटक पुरस्कार सहित सम्मानित भएँ ।
नातिनातिनाले मलाई ‘हजुरआमा जित्नुभयो’ भनेर भन्न खोज्दा मभित्रको खुसीलाई शब्दले वर्णन गर्न सक्दिनँ,” उनले भनिन् । तेस्रो स्थान पाएकी ५८ वर्षीया पद्मकला बुढा पनि खुसीले झल्किएकी थिइन् । उनका सात नातिनातिना छन् ।
“हामीलाई सामान्यतया घरभित्रको काम र मेलापातमा घाँस दाउरा गरेको मात्रै देखिन्नुहुन्थ्यो । तर आज यो सडकमा हामी दौडियौं । हामी पनि सक्षम छौं भन्ने देखाउन पाउँदा निकै खुसी छु,” उनले भनिन् ।
विजेता धनसराले २५ हजार रुपैयाँ मूल्य बराबरको साइकल, धारा तोरीको तेल र पौष्टिक खाद्यान्न पुरस्कारमा पाइन् । द्वितीय नन्दमायाले १५ हजार बराबरको साइकल र खाद्यान्न पाउँदा तेस्रो पद्मकलाले १० हजार बराबरको साइकल तथा खाद्यान्न हात पारिन् ।
विजेताहरूलाई लुम्बिनी प्रदेशका युवा तथा खेलकुद मन्त्री सन्तोष कुमार पाण्डे, कर्णाली प्रदेशका अर्थमन्त्री राजीव विक्रम शाह, लुम्बिनी प्रदेशकी पूर्व मन्त्री कृष्णा केसी नमुना, प्रदेश सभा सदस्य मिना श्रेष्ठ र अम्बिका काफ्लेलगायतले सम्मान गरे ।
एक किलोमिटरको दूरी छोटो भए पनि त्यसमा हजुरआमाहरूको आत्मविश्वास, जीवन्तता र ऊर्जा देख्दा एक खालको खुसीसँगै धेरैको आँखा रसाएको थियो । हजुर आमाहरू जोसका साथ दौडिँदा सडक छेउछाउमा रहेका दर्शकहरूले ताली बजाउँदै हौसला दिएका थिए ।