© २०२३
काठमाडौं, २१ भदौ ।
सभामुख देवराज घिमिरेले संसदीय प्रक्रिया र सङ्घीय संसद् सचिवालयमा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको प्रयोगबारे अध्ययन भइरहेको बताएका छन् ।
शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै सभामुख घिमिरेले संसद तथा संसदीय समितिमा हुने भाषणलाई ‘स्पीच टु टेक्स्ट’ प्रणालीमार्फत स्वचालित रूपमा लिपिबद्ध गर्ने, अटोमेसन प्रविधिबाट समयमै काम सम्पन्न गर्ने र विधेयकसँग सम्बन्धित डेटा छिटो खोजी तथा विश्लेषण गर्न एआई उपयोगी हुने स्पष्ट पारे ।
उनका अनुसार, एआईले सांसदहरूलाई नीति निर्माणका लागि आवश्यक तथ्याङ्क र सुझाव समयमै उपलब्ध गराउन मद्दत गर्छ । नेपाल जस्तो देशका लागि पनि एआईले संसदीय सूचना प्रणालीलाई प्रभावकारी र सुदृढ बनाउन सक्नेमा दुईमत नरहेको उनको भनाइ थियो ।
सभामुख घिमिरेले जनगुनासो व्यवस्थापन, विधेयकको प्रारम्भिक मूल्याङ्कन र नीतिगत निर्णयहरूको प्रभाव विश्लेषण जस्ता कार्यमा पनि एआई प्रयोग गर्न सकिने बताए । तर, गलत सूचना, डाटा सुरक्षाको चुनौती, ह्याकिङ र गोपनीयता संरक्षणजस्ता संवेदनशील पक्षलाई ध्यानमा राख्दै यो प्रविधिको प्रयोग गर्नुपर्नेमा उनले जोड दिए ।
उनले भने, “कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगले दैनिक जीवनलाई सहज र प्रभावकारी बनाएको छ । नियमित स्वास्थ्य परीक्षणमा भिडियोमार्फत सुझाव लिन सकिने, रोगको प्रारम्भिक चरणमै पहिचान गर्न सकिने, दूरदराजमा टेलिमेडिसिन सेवा पुर्याउन सकिने र आपतकालीन अवस्थामा चेतावनी प्रणालीमार्फत जोखिम न्यूनीकरण गर्न सकिने जस्ता सकारात्मक प्रभाव छन् ।”
एआईको विश्लेषणात्मक क्षमताले विभिन्न क्षेत्रको निर्णय प्रक्रियामा सहयोग पुग्ने उल्लेख गर्दै उनले यसले समय र स्रोत दुवैको बचत गर्ने बताए ।
यद्यपि, ‘डीपफेक’ प्रविधिबाट गलत सूचना फैलिने, साइबर ठगी बढ्ने, संवेदनशील व्यक्तिगत जानकारी चुहिने, र मानव श्रम विस्थापन हुने सम्भावनालाई गम्भीर रूपमा लिनुपर्ने उनको धारणा थियो ।
कार्यक्रमको अन्त्यमा सभामुख घिमिरेले संसदमा एआई प्रविधिको प्रयोगबारे जारी छलफलबाट आवश्यक दिशानिर्देश प्राप्त हुने अपेक्षा पनि व्यक्त गरे ।