Butwal Today

तीन प्रदेशमा भारी वर्षा, तराईमा हुरी चल्ने सम्भावना

१९ भाद्र २०८२, बिहीबार
अ+
अ-

काठमाडौँ ।

मौसम पूर्वानुमान महाशाखाले आज देशका विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षा हुने र तराईका केही क्षेत्रमा हुरीसमेत चल्न सक्ने पूर्वानुमान गरेको छ ।

महाशाखाले आज बिहान जारी गरेको दैनिक बुलेटिनअनुसार दिउँसो देशभर आकाश सामान्यतया बदली रहनेछ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित देशका पहाडी भू–भागका केही स्थानहरूमा तथा तराई भू–भागका थोरै स्थानमा मध्यम खालको वर्षा हुने सम्भावना रहेको छ । त्यस्तै, मधेस प्रदेशका थोरै स्थानहरू र लुम्बिनी प्रदेशको तराई क्षेत्रमा हुरीसहितको मौसम देखिन सक्ने बताइएको छ ।

रातिको समय (साँझ ६ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्म) मा कोसी र मधेस प्रदेशसहित देशका पहाडी भू–भागहरूमा सामान्यतया बदली रहने छ भने अन्य ठाउँहरूमा आंशिक बदलीको अवस्था रहनेछ ।

कोसी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा अन्य प्रदेशका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ । यस्तै, कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा भारी वर्षा पनि हुन सक्ने देखिएको छ ।

महाशाखाले दिउँसो भनेको बिहानदेखि साँझ ६ बजेसम्म र राति भनेको साँझ ६ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्मको समयलाई जनाउने स्पष्ट पारेको छ ।

मौसमविद्का अनुसार, २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम वर्षा भएमा त्यसलाई हल्का, १० देखि ५० मिलिमिटर सम्मलाई मध्यम, ५० देखि १०० मिलिमिटरसम्मलाई भारी, १०० देखि २०० मिलिमिटरसम्मलाई धेरै भारी र २०० मिलिमिटरसम्मभन्दा बढी वर्षा भएमा अति भारी वर्षा भनिन्छ ।

त्यस्तै, ‘एक–दुई स्थानमा’ वर्षा भन्नाले सम्बन्धित क्षेत्रका १० प्रतिशतभन्दा कम भागमा पानी पर्ने सम्भावनालाई जनाइन्छ । १० देखि ३० प्रतिशत क्षेत्रफलमा पानी पर्ने सम्भावना देखिएको अवस्थामा ‘थोरै स्थानमा’, ३० देखि ५० प्रतिशतमा ‘केही स्थानमा’, ५० देखि ८० प्रतिशतमा ‘धेरै स्थानमा’ र ८० प्रतिशतभन्दा बढी क्षेत्रमा वर्षा हुने देखिएमा ‘अधिकांश स्थानमा’ पानी पर्ने उल्लेख गरिन्छ ।

महाशाखाले सम्भावित वर्षा र हुरीको जोखिमलाई मध्यनजर गर्दै आवश्यक सतर्कता अपनाउन नागरिकलाई अनुरोध गरेको छ ।