Butwal Today

सुडानमा पहिरोमा परि एक हजारको मृत्यु

१७ भाद्र २०८२, मंगलवार
अ+
अ-

काठमान्डौ, १७ भदौ ।

सुडानको पश्चिमी क्षेत्रमा पर्ने मार्रा पर्वतमा गएको पहिरोमा परी करिब एक हजार मानिसको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

सुडान लिबरेसन मुभमेन्ट आर्मीले जारी गरेको वक्तव्यअनुसार निरन्तर तीन दिनसम्मको अविरल वर्षापछि आएको पहिरोले सम्पूर्ण गाउँ नै माटोमा पुरिएको छ । उक्त घटनामा केवल एक व्यक्ति मात्र जीवित उद्धार भएको खबर अमेरिकी सञ्चारमाध्यम सीएनएनले उल्लेख गरेको छ ।

घटनापछि संयुक्त राष्ट्रसङ्घ र अन्तर्राष्ट्रिय राहत संस्थाहरूसमक्ष उद्धार कार्यमा सहयोग पुर्‍याउन र मृतकको शव व्यवस्थापनका लागि तत्काल कदम चाल्न अपिल गरिएको छ ।

सुडानी सेनामाथि सङ्घर्षरत अर्धसैनिक द्रुत सहयोग बल आरएसएफसँगको लडाइँका कारण उत्तरी दर्फुर राज्यबाट विस्थापित भएका नागरिकहरू मार्रा पर्वत क्षेत्रमा शरण लिन पुगेका थिए । सुडानमा दुई वर्षदेखि चलिरहेको गृहयुद्धका कारण आधा जनसङ्ख्या खाद्य सङ्कटको चपेटामा परेको छ भने लाखौँ नागरिक घरबारविहीन बनेका छन् ।

युद्ध र प्राकृतिक प्रकोपले तहसनहस बनेको सुडानमा आधा जनसङ्ख्या खाद्य सङ्कटमा फसेका छन् भने लाखौँ नागरिक विस्थापित भइसकेका छन् । यसैबिच, उत्तरी दर्फुरको राजधानी अल–फाशिर अहिले पनि तीव्र युद्धको चपेटामा रहेको रोयटर्सले जनाएको छ ।