Butwal Today

साताको पहिलो दिन सेयर बजारमा गिरावट, नेप्से ३१ अंकले घट्यो

१५ भाद्र २०८२, आइतबार
अ+
अ-

काठमाडौं, १५ भदौ ।

साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा तीव्र गिरावट देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक अघिल्लो दिनको तुलनामा ३१.१७ अंकले (१.१२ प्रतिशत) घटेर बन्द भएको छ ।

कारोबारको सुरुदेखि नै बजार रातोमा खुलेको नेप्से अन्त्यसम्म पनि गिरावटमै रह्यो । नेप्सेसँगै सेन्सिटिभ, फ्लोटसहित सबै उपसूचकहरूमा गिरावट देखिएको छ । कारोबार रकम पनि घटेको छ ।

अघिल्लो कारोबार दिन बिहीबार ८ अर्ब ९ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा आइतबार ६ अर्ब ६ करोड रुपैयाँमा सीमित भयो । आज कुल २१ कम्पनीको मूल्य बढ्दा २२८ को घट्यो भने १ कम्पनीको मूल्य स्थिर रह्यो । समूहगत रूपमा सबैभन्दा धेरै विकास बैंक समूह १.५९ प्रतिशतले घट्यो ।

यस्तै, बैंकिङ ०.८८, फाइनान्स १.३०, होटल तथा पर्यटन १.०७, जलविद्युत १.४७, लगानी १.०४, जीवन बीमा १.००, उत्पादन तथा प्रशोधन १.०१, माइक्रोफाइनान्स १.३८, निर्जीवन बीमा १.१३, अन्य १.२४ र व्यापार समूह ०.३८ प्रतिशतले घटेका छन् ।

मूल्य वृद्धि हुने कम्पनीहरूमा उन्नति सहकार्य लघुवित्त सबैभन्दा अगाडि रह्यो, जसको सेयर मूल्य ६.७७ प्रतिशतले बढ्यो । यस्तै आशा लघुवित्त ४.१६, समता लघुवित्त २.६४ र मिड सोलु १.८७ प्रतिशतले उकालो लागे ।

अर्कोतर्फ सबैभन्दा धेरै गिरावट नेपाल रिपब्लिक मिडियाको सेयरमा देखियो जसको मूल्य ७.४५ प्रतिशतले घट्यो । यस्तै छ्याङ्दी हाइड्रोपावर ७.०७ र पिपुल्स पावर कम्पनी ५.४१ प्रतिशतले घटेका छन् ।

आज कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा, हिमालयन रिइन्स्योरेन्स, हिमालयन डिस्टिलरी, नेपाल रिपब्लिक मिडिया र पिपुल्स पावर अगाडि रहे ।