© २०२३
कपिलवस्तु, १५ भदौ ।
कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले आगामी १० दिनभित्र युरिया मल सहज रूपमा उपलब्ध हुने आश्वासन दिएका छन् ।
कपिलवस्तुको चन्द्रौटामा आज आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले भारतको कोलकाताबाट आयात गरिएको मल साता दश दिनभित्र नेपाल आइपुग्ने र किसानले सहज रूपमा पाउने जानकारी दिएका हुन् ।
अब मलको हाहाकार नहुने उल्लेख गर्दै उनले किसानहरूलाई निश्चिन्त हुन आग्रह गरे । मन्त्री अधिकारीले मल वितरणमा पारदर्शिता र न्यायिकता आवश्यक रहेको उल्लेख गर्दै वास्तविक कृषकलाई प्राथमिकता दिनुपर्ने बताए ।
उनले खेतयोग्य जमिनको क्षेत्रफल र उत्पादन क्षमताका आधारमा मल वितरण गर्नुपर्नेमा जोड दिए । “ठुलो भूभागमा खेती गर्ने किसानहरूले मलको अभावका कारण आर्थिक क्षति भोग्न नपरोस् भन्नेमा सरकार संवेदनशील छ,”- उनले भने ।
कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापति तथा महाराजगन्ज नगरपालिकाका प्रमुख अब्दुल कलामले सरकारी मल वितरण प्रणाली अझ प्रभावकारी र किसानमुखी बनाइनु पर्ने आवश्यकता औँल्याए ।
त्यस्तै नेपाली काँग्रेस कपिलवस्तुका जिल्ला उपसभापति उमाकान्त खनालले आगामी वर्षदेखि वर्षा याम सुरु हुनु अघि नै किसानलाई मल, बीउलगायत आवश्यक सामग्री उपलब्ध गराउने योजना अनुसार तयारी गर्न सरकारलाई सुझाव दिए ।
कार्यक्रममा कृषकहरूले समयमा मल नपाउँदा भोग्नुपरेको कठिनाइ र चिन्ताहरू पनि व्यक्त गरेका थिए ।