© २०२३
लमही, १५ भदौ ।
दाङ भालुबाङकी ज्योति केसीले अन्तरिक्ष यात्राको सपना साकार गर्ने दिशामा ऐतिहासिक उपलब्धि हात पारेकी छन् । हालै उनले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै आफू स्पेस एक्सप्लोरेशन एन्ड रिसर्च एजेन्सी (अन्तरिक्ष अन्वेषण तथा अनुसन्धान संस्था) को रकेट अभियानका लागि शीर्ष ६ “नागरिक अन्तरिक्ष यात्री” मध्ये एकमा पर्न सफल भएको जनाएकी छिन् ।
ज्योतिले आफ्नो फेसबुकमा लेखेकी छन् “आठ वर्षको निरन्तर यात्रापछि, मेरो अन्तरिक्ष यात्रा सुरु हुँदै छ ! म सानो देश नेपालमा जन्मिएकी हुँ। बाल्यकालमै तारा माथि हेरेर सपना देखेँ कसरी एक दिन म पनि त्यहाँ पुग्छु ? तर त्यो सपना केवल कल्पना मात्रै रहेन, मैले त्यसलाई जीवनको यात्रामा रूपान्तरण गरेँ ।”
उनका अनुसार अन्तरिक्ष यात्राको तयारी सजिलो रहेन । उनले एरोस्पेस इन्जिनियरिङ (अन्तरिक्ष इन्जिनियरिङ) विषयमा स्नातक अध्ययन गरेकी छिन्। आपत्कालीन अवस्थामा कसरी जीवित रहने भन्ने तालिम (एग्रेस एस्ट्रोनट प्रशिक्षण) पूरा गरेकी छिन ।
साथै, उनले अमेरिकी वायुसेनामा सेवा गरेकी थिइन् भने कोभिड–१९ महामारीका बेला ९ महिना स्वयंसेवक स्वास्थ्यकर्मीको रूपमा अग्र पङ्क्तिमा खटिएकी थिइन् ।
त्यस्तै, उनी पानीमुनि गोता मार्ने खेलाडी (स्कुबा डाइभर), विद्यार्थी पाइलट तथा समानान्तर अन्तरिक्ष यात्री कमान्डर बनेर मंगल वा चन्द्रमाको जस्तै वातावरणमा टोली नेतृत्व गर्दै पानीमुनि खेती (हाइड्रोपोनिक), रोभर परीक्षण र बाह्य गतिविधि सम्पन्न गरिसकेकी छिन् ।
हाल सो संस्थाले उम्मेदवारहरूको मूल्याङ्कन गर्दै अन्तिम छनोट गर्ने तयारी गरेको छ । मध्यम वर्गीय परिवारमा जन्मिएकी ज्योतिले दाङको मुनलाइट बोर्डिङ स्कुलबाट अध्ययन सुरु गरिन् ।
पढाइमा अब्बल उनी सानैदेखि बुवाले ल्याएका विभिन्न पुस्तक पढ्थिन्। पढ्ने बानीले उनी सानैदेखि जिज्ञासु बनिन्। क्रमशः उनी पुस्तक बाहिर अतिरिक्त क्रियाकलापमा पनि व्यस्त हुन थालिन्। ज्योति प्लस टु गर्न बुटवलको मणिमुकुन्द कलेज गइन् ।
त्यसपछिको पढाइ आर्किटेक्ट इन्जिनियरिङ र इन्टेरियर डिजाइनतिर केन्द्रित भयो । पढाइ राम्रै चलिरहेको थियो । साथीहरूको लहलहैमा लागेर अमेरिकी सरकारको ‘डीभी’ (डाइभर्सिटी भिसा) मा आवेदन दिएकी उनी भाग्यशाली ठहरिइन् ।