© २०२३
बर्दघाट, २१ मँसिर
बर्दघाट उद्योग वाणिज्य सँघको आयोजनामा छैटौँ बर्दघाट कृषि, पर्यटन तथा औद्योगिक ब्यापार मेला २०६९ आयोजना हुने भएको छ । सँघले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी मेलाको बारेमा जानकारी गराएको हो ।
कृषि, पर्यटन, उद्योग र ब्यापार समृद्ध बर्दघाटको बलियो आधार भन्ने मूल नाराका साथ आयोजना गरिएको ब्यापार मेला पुस १ गतेदेखि ११ गतेसम्म बर्दघाट मण्डपमा आयोजना गरिने सँघका महासचिव दिनेश न्यौपानेले जानकारी दिए ।
नवलपरासी जिल्लालाई पर्यटकीय नगरीको रुपमा परिचित गराउँदै यस क्षेत्रका धार्मिक, ऐतिहासिक, साँस्कृतिक र जैविक विविधताको संरक्षण एवं प्रचार प्रसार गर्ने उद्देश्यले मेला आयोजना गरिएको साथै जिल्लामा उत्पादन हुने घरेलु एवं कुटिर उद्योगका उत्पादन समेत मेलामा प्रदर्शनी गरी आयोजक संस्थाका अध्यक्ष लेखनाथ न्यौपानेले जानकारी दिए ।
मेलामा कृषि र स्थानिय उत्पादनलाई विशेष प्राथमिकता दिइने पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।
मेलामा दैनिक उपभोग्य वस्तु, साना तथा घरेलु उत्पादन, जडिबुटी तथा कृषि उत्पादन, शैक्षिक, स्वास्थ्य, बैँक तथा वित्तीय सँस्था, होटल रेष्टुरेण्ट, बाल उद्यान र कलाकारहरुको प्रस्तुती रहने छ । मेला सञ्चालनका लागि करिव ६० लाख रुपैयाँ खर्च लाग्ने र करिव ३ करोडको कारोवारको अपेक्षा रहेको जानकारी गराइएको थियो ।