© २०२३
वास्तवमा यतिवेला विश्व अशान्त छ । कतिपय मुलुकमा एक अर्काका बीचमा द्वन्द्व चलेको छ भने कतिपय मुलुकमा आन्तरिक किचलोले छोडेको छैन । एकातर्फ दुईवटा मुलुकका बीचमा तनावको अवस्था छ भने अर्कोतर्फ एउटै मुलुक भित्र पनि राजनीतिक टक्करका कारणले अशान्त छ । दुई देशका बीचमा भएको टक्करले ठूलो धनजनको क्षती भइरहेको छ ।
वर्षौ लगाएर निर्माण गरिएका भौतिक संरचनाहरू एकपछि अर्कोगर्दै ध्वम्सको अवस्थामा पुगेका छन् । हरवस्तुको मूल्य आकाशिएको छ । भौतिक संरचना ध्वम्स र मूल्यवृद्धिले अन्य मुलुकका नागरिकलाई ठूलो असर परेको छ । यस कारण सर्वसाधारणको मनमा तनाव उत्पन्न भएको छ । आपसी द्वन्द्व र मानसिक तनावका कारणले जनको ठूलो क्षती भएको छ ।
केही मुलुकहरूमा त स्वदेशी मात्र नभएर विदेशीहरू समेत युद्धको चपेटामा परेर ज्यान गुमाइरहेका छन् । कति वन्दी अवस्थामा छन् । उता अन्न उत्पादनमा कमी आएको छ यत हात हतियारमा वृद्धि भएको छ । यसले हरसमय भयको अवस्था सिर्जना गरेको छ ।
युद्धग्रस्त क्षेत्रका शासकहरूलाई द्वन्द्वबाट हुने जनधनको नोक्सानीको ज्ञान नभएको होइन । तर युद्ध भन्नेकुरा ज्ञानले मात्र हुने रहेनछ । गहिराईबाट कुरा कुझ्ने हो भने हरेक मानिसका लागि पहिलो ज्ञान भनेको मानवको रक्षा गर्नु हो ।
तत्पश्चात उसले निर्माण गरेका सबै संरचनाको रक्षा गर्नु हो । सबैको सम्मानको लागि भाइचारा कायमा गर्नु हो । आज त्यसको ठीक विपरित भइरहेको छ । जनको नोक्सान एकातर्फ छ भने धन तथा भौतिक संरचनाको नोक्सान अर्कोतर्फ छ ।
यसले युद्धग्रस्त क्षेत्रमा प्रत्यक्ष असर परेको छ भने छिमेकी तथा ति मुलुकसंग दौत्य सम्वन्ध गाँसिएका अन्य विभिन्न मुलुकमा समेत ठूलो असर परेको छ । चाहे पूर्वमा अशान्ति होस चाहे पश्चिममा, संसार नै त्रस्त्र हुने अवस्थामा पुगेको छ ।
अझ कहिले तेस्रो विश्व युद्धका कुरा समेत उठने गर्छन । पहिले भएका दुईवटा विश्वयुद्धले के उपहार दिएका हुन् ? यो त सबैका सामुमा प्रष्ट छ । दुबै विश्व युद्धमा कति जन धनको नोक्सान भयो भन्ने कुरा त लिपिवद्ध छ । यसैले तर्साएका कारणले अव विश्वमा शान्ति चाहिन्छ भन्ने लागेर संयूक्त राष्ट्र संघ जस्ता संस्थाको जन्म भएको हो ।
विश्वयुद्धमा जापान जस्तो मुलुकका हिरोसिमा र नाकासाकी जस्ता शहर क्षणभरमा ध्वस्त भएका उदाहरण अहिले पनि छन् । यस्तो जान्दा जान्दै पनि शान्तिको ठाउँमा किन द्वन्द्व चलिरहेको छ र हिंसा भइरहेको छ ? युद्ध भनेको युद्ध नै हो ।
जतिसुकै मानव हितका कुरा गरे पनि जतिसुकै शान्तिका कुरा छाँटे पनि व्यवहारले ध्वंस नै देखाउँछ । जहाँ दुई पक्षकाबीचमा द्वन्द्व हुन्छ, त्यहाँ कल्पना गरेको भन्दा ठूलो क्षति हुन्छ । यतिवेला युद्धग्रस्त क्षेत्रमा नागरिकले मात्र होइन त्यहाँको हावापानी र वनस्पतीले समेत ठूलो क्षति व्यहोर्न वाध्य भइरहेका छन् ।
हरेक ठाउँको माटो हावा र पानीले शान्ति चाहन्छन् । माटो सधै उर्वर हुनुपर्दछ र प्रदूषणबाट मुक्त हुनुपर्दछ । यस्तै पानी शुद्ध हुनुपर्दछ । प्रदुषित पानीले पानीमा बस्ने जीव मात्र नभएर बाह्य वातावरणमा रहेका सबै वस्तुलाई समेत नोक्सान गर्दछ ।
हावा सबै प्राणीका लागि उत्तिकै महत्त्वको हुन्छ । श्वास प्रश्वास विना जीवन रहन सक्दैन । यस्तो महत्वको वायु थोरैमात्र प्रदूषित भयो भने यसले अलि धेरै स्थानमा अति छिटो असर पार्दछ । हावा र पानी दूषित हुनुले माटो, वनस्पती र सबै प्राणीलाई तत्काल प्रत्यक्ष असर पार्दछ ।
जव माटो, हावा र पानी दूषित हुन्छ त्यहाँ स्वस्थता र स्वच्छताको कल्पना नगरे पनि हुन्छ । जहाँको वायु प्रदूषित हुन्छ त्यो वायु एकै स्थानमा अडिएर बस्दैन । यो जता वहन्छ सबै क्षेत्रमा नराम्रो असर पर्दछ ।
मानिसलाई बाँच्नका लागि आवश्यक तत्व मध्यमा हावा सबैभन्दा महत्वपूर्ण तत्व हो । यसैगरी जल अशुद्ध हुनु भनेको जलमा वस्ने सबै प्राणीलाई अरूभन्दा छिटो असर गर्दछ भने जलदेखि बाहिर रहेका र जल उपभोग गर्ने अन्य सबैलाई तत्काल असर पार्दछ ।
मानव विभिन्न कारणबाट अस्वस्थ हुनसक्छ । अस्वस्थ भयो भने उपचारका निमित्त अस्पताल जानुपर्दछ तर यतिवेला कतिपय युद्धग्रस्त मुलुकका अस्पतालहरूमा समेत युद्ध जित्ने नाममा बमवारी भएर ठूलो मात्रामा जनको र धनको नोक्सान भइरहेको छ ।
यसले के सिकाउँछ भने हामीले धेरै चिजको विकास त गरेका छौं तर ती विकास भएका वस्तु संरक्षणको साटो ध्वंस पारिरहेका छौं । ध्वंस पारिरहेका छौं भन्नुको मतलव हो वर्तमानमा सञ्चालनमा आएको युद्धले यही सन्देश दिइरहको छ ।
जुन सन्देश कसैकालागि पनि फलदायी छैन र फलदायी हुँदैन पनि । कम्तिमा यो पाठ युद्धग्रस्त मुलुकका अगुवाहरूले बुझनु पर्नेछ । युद्धको मात्र भाषा बोल्नेहरूले यो पाठ समयमा सिक्नु पर्ने हो । यसबाट हुने ठूलो नोक्सानीको वारेमा निकैचर्चा चल्दछ । तर, युद्ध निवारणको वारेमा धेरै होइन थोरैपनि चासो छैन ।
विभिन्न मुलुकक बीचमा चलेको युद्धले आज मुलुकभित्र खाद्यान्न रित्तिएको छ । नयाँ उत्पादनको संभावना कम हुँदै गइरहेको छ । बाहिरबाट ल्याउने अवस्था पनि छैन अनि त त्यहाँका नागरिकहरू भोगकोभोकै मर्न वाद्य भएका छन् ।
उनीहरूको के विरामा थियो र उनीहरूले अनाहकमा ज्यान गुमाइरहेका छन् ? हालसम्म सयजना बढीको भोकमरीका कारणले निधन भइसकेको छ । अझ कतिको ज्यान जाने हो ? यो खतरा घड्दो अवस्थामा होइन बढदो अवस्थामा छ ।
ती ज्यान गुमाउनेहरू न कसैको पक्षमा थिए न कसैको विपक्षमा थिए । उनीहरूले आफ्नो जीवन धान्नका निम्ति केही गर्न चाहेका थिए तर त्यो पनि पाएनन् अनि अनाहकमा ज्यान गयो । यतिमात्र होइन हाल युद्ध चलिरहेका मुलुकका कारणले कति मुलुकको मार्ग अवरुद्ध भएको छ । रुस युक्रेन युद्धले त हाम्रो मुलुकलाई समेत असर परिरहेको छ । हरेक कुराको मूल्य वृद्धिको अवस्थामा छ ।
किन यसो भएको ? भनेर प्रश्न गर्ने हो भने त्यही युद्धका कारणले भन्ने जवाफ आउँछ । एकातर्फ युद्धको चपेटामा परेर युद्धग्रस्त मुलुकका घर पसल वा अस्पताल ध्वंस भएका छन् ।
यसले त्यहाँको वातावरणलाई समेत अस्वस्थकर अवस्थामा पु¥याएको छ भने अर्को कुरा उत्पदनमा कमी आएका कारणले त्यहाँका कतिपय नागरिक खाद्यान्नबाट विमुख हुँदैछन् अनि दिनदिनै अभावको जीवन बाँच्न बाद्य भइरहेका छन् ।
जुनसुकै मुलुकमा भएको युद्ध भए पनि त्यहाँका जनताबाट अनुमोदन गराइएको होइन । राज्य सञ्चालकको मनको उपज हो । युद्ध भन्दा थोरै फरक र कम होला राजनीति चपेटामा परेका नागरिकको पीडा ।
नेतृत्व वर्गको आफ्नो स्वार्थका कारणले विभिन्न मुलुकका नागरिक चपेटामा परेका छन् । बाहिरबाट हेर्दा घर भवन पुल पुलेसा ध्वस्त नभएका भए पनि आपसी खिचातानीले गर्दा हुनुपर्ने जति काम भएको छैन । यसले कसैलाई फाइदा गरेको छैन ।
राजनीतिक दाउँपेचले गर्दा उन्नति प्रगति रोकिने अवस्था आउँदा पनि आफ्नो दाउ पार्ने काम भइरहेको छ । यसैबाट उत्पन्न भएको हो भ्रष्टाचार र बेथिती । आम नागरिकको ठोस बुझाइ यही छ । यो कुरा नागरिकले बुझेर हुनेरहेनछ । अव युद्ध र राजनीतिक दाउपेच तत्काल अन्त्य हुनु पर्दछ । तत्कालको समयले यही भन्दछ ।