Butwal Today

महेन्द्र राजमार्गमा  ‘एक्स्ट्रा सिट’ माथि ब्रेक: ट्राफिकको निगरानी

२२ बैशाख २०८३, मंगलवार
अ+
अ-

चन्द्रौटा (कपिलवस्तु) । क्षमताभन्दा बढी यात्रु बोक्ने प्रवृत्तिमाथि नियन्त्रण गर्न ट्राफिक प्रहरीले महेन्द्र राजमार्ग क्षेत्रमा ‘एक्स्ट्रा सिट’ विरुद्ध कडाइ सुरु गरेको छ । यात्रु बढाउने लोभमा सवारीभित्र थपिएका अस्थायी सिट, मुडा र कुर्ची हटाउँदै जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले अनुगमन तीव्र बनाएको हो ।

अभियानअन्तर्गत हालसम्म १ सयभन्दा बढी सवारी साधनबाट अनधिकृत रूपमा जडान गरिएका अतिरिक्त सिटहरू निकालिएको ट्राफिक प्रहरीले जनाएको छ । कार्यालय प्रमुख प्रहरी निरीक्षक राजन ढकालले दुर्घटना न्यूनीकरण मुख्य उद्देश्य रहेको बताए । “सवारी साधनको क्षमता नहेरी यात्रु राख्दा जोखिम अत्यधिक बढ्छ, त्यसैले यस्ता कार्यलाई निरुत्साहित गर्न अभियान चलाइएको हो” उनले भने ।

चालकहरू स्वयंले पनि अतिरिक्त सिटले समस्या निम्त्याउने स्वीकार गरेका छन् । धेरै यात्रु चढाउँदा गाडीको सन्तुलन बिग्रिने, स्टेरिङ चलाउन असहज हुने र आकस्मिक अवस्थामा सवारी नियन्त्रण गुम्ने जोखिम रहने सवारी चालक मधु सुधन आले मगरले बताए । बढी सिट राखेर सवारी चलाउँदा गाडी असन्तुलित हुन्छ, यात्रु धेरै हुँदा भिडभाडले स्टेरिङ चलाउनै गाह्रो हुने गरेको उनीहरूको भनाइ छ ।

ट्राफिक प्रहरीका अनुसार सवारीमा अत्यधिक भार हुँदा ब्रेक प्रणालीमा अतिरिक्त दबाब पर्ने, मोडमा सवारी ढल्किने र दुर्घटनाको सम्भावना बढ्ने गर्दछ । यस्ता अनधिकृत संरचनात्मक परिवर्तनले यात्रुको सुरक्षामा गम्भीर असर पार्ने भएकाले पहिलो चरणमा सचेतना र त्यसपछि कारबाहीको रणनीति अपनाइएको ट्राफिक प्रहरी निरीक्षक ढकालको भनाइ छ । अभियान जारी रहने ट्राफिक प्रहरीले जनाएको छ । जसले सडक सुरक्षामा सुधार ल्याउने अपेक्षा गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?