© २०२३
भैरहवा ।
राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडको आयोजनामा “नेपालको कृषि रूपान्तरण : “सोएल टु सक्सेस” विषयक एक दिने अन्तरक्रिया तथा छलफल कार्यक्रम भैरहवा र बुटवलमा सम्पन्न भएको छ ।
कार्यक्रमको मुख्य उद्देश्य कृषि क्षेत्रको समग्र रूपान्तरण, सम्भावित लगानीका अवसरहरूको पहिचान तथा दीर्घकालीन रणनीतिक योजना निर्माण रहेको आयोजक संस्थाले जनाएको छ ।
“कृषिमा लगानी अबको प्राथमिकता” भन्ने नारासहित आयोजित भेलाले कृषक सशक्तीकरण, कृषि व्यवसाय विस्तार र आर्थिक समृद्धिमा योगदान पुग्ने विश्वास व्यक्त गरिएको थियो ।
राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडका अनुसार, कार्यक्रममा अनुभवी कृषक, नीति निर्माता, निजी क्षेत्रका लगानीकर्ता तथा कृषि विज्ञहरूको सक्रिय सहभागिता रहेको थियो । भेलाले नवप्रवर्तन, साझेदारी र लगानीका नयाँ ढोका खोल्ने अपेक्षा गरिएको छ ।
कार्यक्रमको सञ्चालन कम्पनीका सचिव विष्णु बरालले गरेका थिए भने स्वागत मन्तव्य प्रशिक्षक धिरेन्द्र पन्तले दिएका थिए । कार्यक्रममा कम्पनीका मधेस प्रदेश प्रमुख रवीन्द्र कुमार पजियार, संस्थापक सदस्यहरू तथा भैरहवा–बुटवल क्षेत्रका विभिन्न पेसामा आबद्ध प्रभावशाली व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
आयोजकका अनुसार दुवै कार्यक्रममा गरी करिब २५० जना सहभागी भएका थिए । राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडका अध्यक्ष विशाल हुमागाईँले कम्पनीले कृषि नीतिलाई व्यवस्थित र प्रभावकारी बनाउन निरन्तर पहल गर्दै आएको बताए ।
उनले अब कृषि र प्रविधिको युग सुरु भएकाले दुवैलाई जोडेर लैजान आवश्यक भएको र कृषि सम्मानित तथा मर्यादित पेसाका रूपमा रूपान्तरण हुँदै गएको उल्लेख गरे । साथै, उनले आत्मनिर्भर नेपालको गन्तव्यतर्फ यो अभियान दृढतापूर्वक अघि बढिसकेको स्पष्ट पारे ।
भैरहवामा आयोजित कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका मेयर, पूर्व–उपमेयर तथा उद्योग–व्यापार क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको समेत सहभागिता रहेको थियो । कार्यक्रमको संयोजन पन्त ग्लोबल कन्सल्टेन्सीले गरेको थियो ।