© २०२३
काठमाडौं, ३ भदौ ।
प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानालाई हटाउने सत्तारुढ गठबन्धनको तयारीपछि विपक्षी दलहरू संयुक्त छलफलमा जुट्न लागेका छन् ।
त्यसैअनुसार नेकपा माओवादी केन्द्रको संसदीन दल कार्यालयमा आज दिउँसो साढे २ बजे विपक्षी दलहरूको बैठक बोलाइएको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयका अनुसार, सत्तापक्षबाट उपसभामुख हटाउने उद्देश्यसहित हस्ताक्षर अभियान सुरु भएसँगै यो बैठक आह्वान गरिएको हो ।
प्रचण्ड सचिवालयका सदस्य गोविन्द आचार्यका अनुसार, पदाधिकारीस्तरको छोटो बैठकपछि विपक्षी दलहरूसँग औपचारिक छलफल गर्नु उपयुक्त ठहर गर्दै बैठक तय गरिएको हो ।
सत्तारुढ नेकपा एमाले र नेपाली कांग्रेसले उपसभामुख हटाउने प्रक्रिया अघि बढाएसँगै त्यसको प्रतिवाद गर्न र रणनीति बनाउने उद्देश्यले विपक्षी दलहरू छलफलमा बस्न लागेका हुन् ।