© २०२३
काठमाडौँ ।
दुईदिने औपचारिक भ्रमणका लागि काठमाडौं आइपुगेका भारतीय विदेश सचिव विक्रम मिस्रीले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गरेका छन् । आइतबार बिहान काठमाडौं पुगेका मिस्रीले शीतल निवासमा राष्ट्रपति पौडेलसँग भेट गरेका हुन् ।
भारतीय दूतावासका अनुसार, भेटका क्रममा सचिव मिस्रीले भारतीय नेतृत्वको तर्फबाट राष्ट्रपतिलाई शुभकामना व्यक्त गरे। साथै, नेपाल–भारत सम्बन्धमा हालसम्म भएका प्रगति र सुधारबारे जानकारी गराएका छन् ।
राष्ट्रपति पौडेलसँगको भेटअघि मिस्रीले नेकपा (एमाले) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका थिए । उक्त भेटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फबाट भारत भ्रमणका लागि औपचारिक निमन्त्रणा पत्र हस्तान्तरण गरिएको दूतावासले जनाएको छ ।
भारतीय पक्षले ओलीलाई आगामी ३१ भदौदेखि १ असोजसम्म भ्रमणका लागि प्रस्ताव गरेको भए पनि भ्रमणको मिति औपचारिक रूपमा तय भइसकेको छैन ।
भ्रमणका क्रममा विदेश सचिव मिस्रीले परराष्ट्रमन्त्री, परराष्ट्र सचिवलगायत उच्चस्तरीय पदाधिकारीहरूसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ । परराष्ट्र मन्त्रालयका अनुसार, सचिवस्तरीय छलफल नेपाल–भारत साझेदारीका विविध पक्षहरू जस्तै कनेक्टिभिटी, विकास सहकार्य तथा आपसी हितका विषयहरूमा केन्द्रित हुनेछ ।