Butwal Today

गाजामा करिब १० लाख महिला र किशोरीहरू भोकमरी, हिंसा र दुर्व्यवहारको शिकार

१ भाद्र २०८२, आइतबार
अ+
अ-

काठमाडौँ । 

संयुक्त राष्ट्रसंघको राहत तथा कार्य एजेन्सी ( यूएनआरडब्लुए ) ले शनिबार जानकारी दिएको छ कि गाजामा अत्यधिक भोकमरी फैलिरहेको छ । करिब दस लाख महिला र किशोरीहरू खाना र पानी खोज्न अत्यन्त जोखिमपूर्ण अवस्थामा बाहिर निस्कन बाध्य छन्, जहाँ उनीहरूको ज्यान समेत जोखिममा छ ।

एजेन्सीले इजरायली नाकाबन्दी तुरुन्त हटाउन र ठूलो मात्रामा राहत सामग्री भित्र्याउन अनुमति दिन सरकारलाई आग्रह गरेको छ ।  गाजामा हाल २० लाखभन्दा बढी मानिसहरू बसोबास गर्छन् ।

स्वास्थ्य अधिकारीहरूले भनेका छन् कि पछिल्लो २४ घण्टामा कुपोषण र भोकका कारण एक बालकसहित ११ जनाको मृत्यु भएको छ । यससँगै भोकमरीका कारण मृत्यु हुनेहरूको संख्या २५१ पुगेको छ, जसमा १०८ जना बालबालिका छन् ।

गत वर्षको मार्चदेखि इजरायली आक्रमणका कारण हालसम्म ६१ हजार ८ सयभन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने एक लाख ५५ हजारभन्दा बढी घाइते भएका छन् ।

गत बिहीबार १०८ गैरसरकारी संस्थाहरूले संयुक्त विज्ञप्ति जारी गर्दै मे १९ यता अधिकांश अन्तर्राष्ट्रिय संस्थाहरूले गाजामा एकवटा पनि जीवनरक्षक सामग्री पुर्‍याउन सकेका छैनन् भनी जनाएका छन् ।

इजरायलले ती संस्थाहरूलाई राहत वितरणको अनुमति नदिएको उल्लेख गरिएको छ । जुलाई महिनामा मात्र ६० भन्दा बढी निवेदन अस्वीकृत भएका छन् ।

संयुक्त राष्ट्रसंघको मानव अधिकार कार्यालयले जनाएको छ कि जुन १३ देखि जुलाई २८ सम्मको अवधिमा राहत लिन गएका कम्तीमा १,७६० जना गाजावासी मारिएका छन् । तीमध्ये ९९४ जना राहत वितरण केन्द्र नजिकै र ७६६ जना राहत गाडीहरू चल्ने बाटोमा मारिएका हुन् ।