Butwal Today

विदेश जाने यात्रुहरू अध्यागमन जाँचका लागि अब एक घण्टा अघिनै उपस्थित हुनुपर्ने

१ भाद्र २०८२, आइतबार
अ+
अ-

१ भदौ, काठमाडौं ।

विदेश जाने यात्रुहरू अब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन (इमिग्रेशन) जाँचका लागि कम्तीमा एक घन्टा अगाडि नै पुग्नुपर्ने भएको छ  ।

अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीका अनुसार यात्रुको अत्यधिक चापका कारण कागजात परीक्षणमा ढिलाइ हुने अवस्था सिर्जना भएकाले यस्तो व्यवस्था लागू गरिएको हो ।  विशेषतः रातिको समयमा खाडी मुलुकतर्फ जाने यात्रुको चाप धेरै हुने गरेको र अन्तिम समयमा यात्रु जाँचमा आउँदा अध्यागमन अधिकारीलाई पनि परीक्षण गर्न कठिन हुने भएकाले यो कदम चालिएको उनले जानकारी दिए  ।

शुक्रबार अध्यागमन विभागले विमानस्थलमा सेवा दिने सबै एयरलाइन्स प्रतिनिधि र सरोकारवाला निकायसँग छलफल गरी यात्रुको चाप व्यवस्थित गर्न यो निर्णय लिएको हो ।

विमानस्थलमा रातिको समयमा यात्रुको चाप रहने भएकाले नागरिक उड्डयान प्राधिकरणलाई उडानको तालिम समेत लचिलो बनाएर पछाडि सार्न आग्रह गरिएको भनिएको छ  ।

यसैबिच, विमानस्थल अध्यागमनका कर्मचारीको मिलेमतोमा संगठित गिरोहले नेपाली युवालाई असुली गरेर पठाएको विषयमा अख्तियारले छानबिन गरिरहेको छ  ।

तत्कालीन विमानस्थल प्रमुख सहसचिव तीर्थराज भट्टराई यसै मुद्दामा पक्राउ परेपछि गृह मन्त्रालयले नयाँ नेतृत्वस्वरूप नरहरि घिमिरेलाई विमानस्थल अध्यागमन प्रमुख र रामचन्द्र तिवारीलाई विभागको महानिर्देशकमा पठाएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?