© २०२३
पाल्पा, ०१ भदौ ।
सञ्चार गृह र सञ्चार संस्थामा कार्यरत पत्रकारहरूको क्षमता विकास र नीतिगत बहस, अध्ययन तथा अनुसन्धानको क्षेत्रमा काम गर्दै आएको पाल्पा विकास केन्द्रले १५ औँ वार्षिक साधारण सभा गरेको छ ।
साधारण सभालाई सम्बोधन गर्दै तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले मिडियाको विकास, सुशासन र नीतिगत पैरवीको विषयमा पाल्पा विकास केन्द्रले राम्रो खेलेको भूमिका अत्यन्त प्रशंसनीय रहेको बताए ।
नगर प्रमुख श्रेष्ठले स्थानीय सरकारले तानसेन नगरपालिकाको विकास र सुशासनको लागि गैरसरकारी संस्था सँग मिलेर काम गर्दै आएको बताए । पाल्पा विकास केन्द्रले, प्रदेश र स्थानीय सरकारका विषयवस्तुलाई खबरदारी गरेर सचेतना जगाउने काम प्रभावकारी भएको नगर प्रमुख श्रेष्ठले बताए ।
संस्थाका सल्लाहकार बाबुराम कार्कीले संस्थाले थुप्रै आरोह अवरोह झेल्दै सामाजिक क्षेत्रमा यस संस्थाले महत्त्वपूर्ण भूमिका खेल्दै आएको स्मरण गर्दै आगामी दिनमा थप सशक्त ढङ्गले अगाडि बढ्न आवश्यक रहेको औँल्याए ।
मानवअधिकारकर्मी तथा वरिष्ठ पत्रकार भगवान् भण्डारीले छोटो समयमै संस्था जिल्लामा स्थापित हुन सफल भएको बताए । उनले स्थानीय मिडिया सबलीकरण, स्थानीय सरकारलाई सुशासनमैत्री बनाउनेदेखि जिल्लाको पर्यटनको क्षेत्रमा संस्थाको योगदान महत्त्वपूर्ण रहेको उल्लेख गरे ।
उनले गरिबी निवारणका क्षेत्रमा यस्ता गैरसरकारी संस्थाहरूसँग स्थानीय सरकारले समन्वय गरेर काम गर्नुपर्ने बताए । संस्थाका अध्यक्ष कृष्ण पोखरेलले आफूहरू हरेक तीन/तीन महिनामा बैठक बसी नयाँ–नयाँ योजनाहरू ल्याउने र ती योजनाहरूमा व्यापक छलफल गरेर मात्र कार्यक्रम कार्यान्वयनमा लैजाने गरेको बताए ।
उनले सबैको सहयोगका कारण संस्था अहिलेको अवस्थामा आएको भन्दै सहयोग गर्ने सबैलाई धन्यवाद दिए । कार्यक्रममा नेपाल पत्रकार महासङ्घ पाल्पाका सचिव रामचन्द्र रायमाझी, होमस्टे महासङ्घका केन्द्रीय उपाध्यक्ष धनिश्वर बस्याल लगायतले संस्थाले गरेका गतिविधिहरू प्रति खुलेर प्रशंसा गरे । केन्द्रका कार्यक्रम संयोजक किरण कौशलले केन्द्रले गरेका गतिविधिका विषयमा जानकारी गराएका थिए ।
उनले तथ्य जाँच, स्थानीय, प्रदेश सरकारले निर्माण गर्ने नीति, कार्यक्रम, योजना र कानुनका विषयमा वाचडगको रूपमा काम गर्दै आएको उल्लेख गरे । केन्द्रकी कोषाध्यक्ष बसन्ती ढकालले ८२ लाख ५० हजार ३ सय ७६ बराबरको आय व्यय प्रस्तुत गरेकी थिइन् ।
सोही अवसरमा संस्थाले तीज विशेष कार्यक्रम समेत गरेको छ । संस्थाका अध्यक्ष कृष्ण पोखरेल, उपाध्यक्ष कृष्ण गहतराज, सह–सचिव विनोद भारती लगायतले बोलेका थिए ।