© २०२३
भैरहवा, ०१ भदौ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेलाई भैरहवामा अनादर स्वागत गर्ने भन्दै भैरहवाशीले आक्रोश पोखेका छन् । भैरहवास्थित गौतमबद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा तदारुकता नदेखाएको र आफूले बोलेका कुराहरूबाट नै पछि हटेको आरोप लगाउँदै भैरहवाका युवाले मन्त्री पाण्डलेलाई “अब भैरहवामा चप्पलले स्वागत गरिने” भन्दै आक्रोश पोखेका हुन् ।
गौतमबद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दागो सञ्चालन बारे शनिबार सिद्धार्थ उद्योग वाणिज्य सङ्घ, भैरहवाले आयोजना गरेको छलफल कार्यक्रममा मुख्य अतिथिको रूपमा सहभागी मन्त्री पाण्डेलाई लक्षित गरी स्थानीय व्यवसायी दीपेन्द्र पौडेलले अहिले पुष्प गुच्छा र खादाले स्वागत गरिएका मन्त्रीलाई चप्पलले स्वागत गर्ने बताएका हुन् ।
“तपाई मन्त्री भई राख्दा विमानस्थल सञ्चालन हुनुपर्छ भनेर कति पटक प्रस्ताव लिएर जानुभयो ? कति पटक एजेन्डा राख्नुभयो ? अहिले तपाई यहाँ चुनावको माहौल भएर आउनुभएको हो ? व्यवसायीहरूलाई नुन छर्किन आउनुभयो कि मलम लिएर आउनु भएको हो ?” उनले प्रश्न गरे त्यही भएर मन्त्री ज्यू तपाईँले व्यवसायीको मर्का बुझिदिनुहोस्, यसलाई धम्की नसोच्नुहोला, जसरी अहिले तपाईँलाई फुल गुच्छा र खादाले स्वागत ग¥र्यौ, पछि खादाको ठाउँमा चप्पल नहोस् र फूल गुच्छाको ठाउँमा हाम्रो फर्मको चाबी नहोस् ।”
पौडेलको आक्रोशको जवाफ दिँदै मन्त्री पाण्डेयले विमानस्थल सञ्चालनको लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री मात्र जिम्मेवार नभएको बताए । उनले यसको प्रवर्द्धनको लागि यहाँको व्यवसायीहरूले पोखराबाट सिक्नुपर्ने जिकिर गरे । ‘तपाईँहरूले चप्पल हाने यहाँ चप्पल मात्र आउँछ, विमान आउँदैन ।’ उनले भने–“विमान ल्याउन सङ्घर्ष र आक्रोश हैन सहजीकरण आवश्यक छ, त्यसैले सङ्घर्ष समिति भन्दा पनि सहजीकरण समिति बनाउनुहोस् ।”
उनले भैरहवा स्थित गौतमबद्ध अन्तर्राष्ट्रिय विमानस्थल जसरी पनि सञ्चालन गर्न लागि परेको बताए । उनले जसरी भए पनि हवाई नीतिका कारणले खुलापन आवोस भन्नेमा सरकार दृढतापूर्वक लागेको बताउँदै यसको लागि नागरिक उड्डयन प्राधिकरण ऐनलाई नागरिक उड्डयन प्राधिकरण ऐन र हवाई सेवा ऐन गरी दुई वटा बनाएको बताए ।
मन्त्री पाण्डेले ऐनमा निजी क्षेत्रले विमानस्थल सञ्चालन गर्न चाहेमा विमानस्थल सञ्चालन गर्न दिने गरी व्यवस्था ऐनमा ल्याएको बताए । यस बारे संसद्को समिति भित्रै पनि विरोध भइरहेका बताउँदै मन्त्री पाण्डेले भने “तर म सरकारको मन्त्रीको नाताले के भन्छु भने यो समयमा निजी क्षेत्रको नियमन पो गर्ने हो त, निजी क्षेत्रलाई निषेध गर्न मिल्दैन ।”, “निजी क्षेत्रलाई रातो कार्पेट बिछ्याएर लगानी गर्ने वातावरण बनाउनुपर्दछ ।
तर निजी क्षेत्रले कर छली गर्न नसक्ने गरी राज्यले संयन्त्र बनाउनुपर्छ, निजी क्षेत्रले कामदारहरूको श्रमको शोषण गर्न पाउँदैन र उपभोक्ता ठगी गर्न नपाउने गरी संयन्त्र बनाइदिनु पर्छ ।”उनले यस विषयमा केही सांसदहरूबाट सुरक्षा चुनौती हुन सक्ने भनी चिन्ता व्यक्त भएकोमा उनले सुरक्षा, अध्यागमन लगायतको विषयमा सरकारले हेर्ने भएकोले यस विषयमा संशय नगर्न आग्रह गरेको बताए ।
“यति भनी रहँदा केन्द्रमा चलिरहेको विमानस्थल सञ्चालन गर्न दिनुपर्छ भन्ने मेरो भनाई हैन ।” उनले भने “तर नचलेका विमानस्थल कसैले चलाउँछु भनेर आयो भने उसलाई दिनुपर्छ ।”
मन्त्री पाण्डेले गौतमबद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि पर्यटन मन्त्रीको चाहनाले मात्र सम्भव नहुने भन्दै सबै पक्षको सहयोग र सहकार्य हुनुपर्ने बताए । उनले यो विमान सञ्चालनमा धेरै विषयहरू जरुरी भएको बताउँदै यसको नेतृत्व गर्ने जिम्मा आफ्नो भएको भन्दै मन्त्री पाण्डेले केही कामहरू सम्पन्न भइसकेको भए पनि धेरै काम गर्न बाँकी रहेको बताए ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीको निकट भविष्यमै हुने भारत भ्रमणको क्रममा रुट परमिट, नेपालका दुई विमानस्थल सञ्चालनको विषयमा भारतको देखिएको असमन्जस निराकरणको कुरा र क्षेत्रियस्तरमा विमान चलाउन सक्ने विषयलाई प्रमुखताका साथ उठाउने गरी कार्यसूची पेस भएको जनाए ।
यस अघि पर्यटन मन्त्री पाण्डे सँगको छलफलको क्रममा बोल्दै सिद्धार्थनगर नगरपालिकाका प्रमुख ईस्तियाक अहमद् खाँनले भैरहवाको विमानस्थल सञ्चालन हुन नसक्नु नेपालकै दुर्भाग्यको रूपमा रहेको बताए ।
उनले काठमाडौँमा अत्यधिक उडानको कारण हवाई रुट अवरुद्ध भइरहँदा त्यहाँ जहाजहरूलाई भैरहवा अवतरण गराउनुपर्ने बताए । नगर प्रमुख खाँनले लुम्बिनी प्रदेशलाई कम्तीमा २० वटा हवाई जहाज ल्याउन पाउने गरी सहजीकरण गरिदिन पनि आग्रह गरे ।
उनले यहाँका व्यवसायीहरू घर जग्गा र होटलमा मात्र लगानी गर्ने नभई हवाई क्षेत्रमा लगानी गरी आफ्नो विमानस्थल सञ्चालन गर्न सक्षम रहेको दाबी गरे । यस्तै नेपाल उद्योग वाणिज्य महासङ्घका सदस्य राजेश कुमार अग्रवाल र सिद्धार्थ उद्योग वाणिज्य सङ्घका निर्वातमा अध्यक्ष ठाकुर कुमार श्रेष्ठले नेपाल सरकारले सञ्चालन गर्न नसके भैरहवा र पोखरा विमानस्थल निजी क्षेत्रलाई सञ्चालन गर्न पाउने गरी व्यवस्था गर्न सुझाव दिए ।
सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नेत्रप्रसाद आचार्यले विमानस्थल चल्छ की चल्दैन ? भन्ने कुरा सरकारले प्रष्ट पार्नुपर्ने बताए । “हामीलाई सधैँ निराशामा राख्न हुँदैन”, उनले भने, “चलाउन सकिँदैन भने सक्दैनौँ भने भइहाल्यो ।”
उनले एउटै विषयमा पटक पटक छलफल गरिरहँदा, सञ्चार माध्यममा आउँदा समेत विमानस्थलबारे सरकारले बेवास्ता गरिरहेको जनाए । “हाम्रा सबै मुद्दा ओझेलमा पारेर खाली विमानस्थल भनेको छौँ तर सरकारले नियमित सञ्चालनमा ध्यानै दिँदैन ।”
विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले यात्रुलाई सुविधा नदिइँदासम्म विमानस्थल सञ्चालनमा कठिनाइ हुने बताए । “श्रम, भिसा, म्यानपावरका लागि काठमाडौँ धाउन परेपछि यहाँ यात्रु किन आउँछन्”, उनले भने, “पहिला यी समस्या समाधान गर्नुपर्छ ।”
उनले यसअघि केही समय उडान भरेका जजिरा र थाई एयर एसियाले ७७ प्रतिशत यात्रु पाउँदा पनि नियमितता दिन नसकेको जनाए । तत्कालका लागि नेपाल एयरलाइन्सबाट भए पनि नियमित उडान गर्नुपर्नेमा उनको जोड छ ।