Butwal Today

जेसीआई तिलोत्तमाको सप्ताहव्यापी कार्यक्रम सम्पन्न, फुटसलमा जेसीआई रामनगर प्रथम

१ भाद्र २०८२, आइतबार
अ+
अ-

तिलोत्तमा, १ भदौ ।

जेसीआई तिलोत्तमाद्वारा आयोजित अन्तर–शाखा फुटसल प्रतियोगिताको उपाधि जेसीआई रामनगरले हात पारेको छ । साताव्यापी कार्यक्रमको अन्तिम दिन शनिबार लुम्बिनी वल्र्ड स्कुलमा सम्पन्न फाइनल खेलमा जेसीआई रामनगरले जेसीआई कञ्चनलाई ३–८ गोलको फराकिलो अन्तरले पराजित गर्दै विजेता बनेको हो ।

प्रतियोगितामा जेसीआई तिलोत्तमाका आठवटा छिमेकी शाखाको सहभागिता थियो। कुल ९ गोल गरेका विजेता टिमका सरोज पौडेल सर्वाधिक गोलकर्तामा घोषित भए भने उपविजेता टिम जेसीआई कञ्चनका गोलकिपर प्रकाश पौडेल उत्कृष्ट खेलाडी बने ।

समापन समारोहमा रामकृष्ण खाँणले विजयी तथा उपविजेता टिम र उत्कृष्ट खेलाडीलाई शिल्ड, मेडल र प्रमाणपत्र वितरण गरे । उनले जेसीआई तिलोत्तमाले आयोजना गरेको साताव्यापी कार्यक्रम समाज रूपान्तरणमा महत्वपूर्ण योगदान भएको उल्लेख गर्दै आगामी दिनमा तिलोत्तमा नगरपालिका जेसीआईसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रम जेसीआई तिलोत्तमाका अध्यक्ष जेसीआई सिनेटर प्रकाश न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा जेसीजका राष्ट्रिय उपाध्यक्ष जेसी धनराज पौडेल, संस्थापक अध्यक्ष जेसीआई सिनेटर विनोद ढकाल, काँग्रेस तिलोत्तमाका नगर सभापति हरिलाल पाण्डे, लुम्बिनी वल्र्ड स्कुलका प्राचार्य विष्णु प्रसाद ढकाल, पूर्व अध्यक्ष तथा पदाधिकारीहरू, छिमेकी शाखाका अध्यक्षलगायतको उपस्थितिमा सम्पन्न भएको जेसीआई तिलोत्तमाका महासचिव रामु रोकाले जानकारी दिए । यसअघि शनिबार बिहान प्रतियोगिताको उद्घाटन राष्ट्रिय महिला फुटबल टोलीका प्रशिक्षक यम बहादुर गुरुङले गरेका थिए ।

सप्ताहव्यापी कार्यक्रमअन्तर्गत जेसीआई तिलोत्तमाले आइतबार मणिग्रामचोकमा सचिवालय स्थापना, सोमबार त्यहीँ बृहत् रक्तदान तथा निःशुल्क सुगर परीक्षण, मंगलबार निःशुल्क दन्त परीक्षण, बुधबार अटिजमसम्बन्धी सचेतना कार्यक्रम, बिहीबार आर्थिक रूपमा कमजोर तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, शुक्रबार मानसिक स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न गरेको थियो ।

अध्यक्ष जेसीआई सिनेटर प्रकाश न्यौपानेका अनुसार, शनिबार सम्पन्न फुटसल प्रतियोगितासँगै सप्ताहव्यापी कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?