© 2026
बुटवल, २९ साउन ।
लुम्बिनी प्रदेशका वन तथा वातावरणमन्त्री देवकरण प्रसाद कलवारलाई नेपाल उद्यान महासंघले उद्यान व्यवस्थापन, विकास र सञ्चालन सम्बन्धी अवधारणापत्र हस्तान्तरण गरेको छ । एक समारोहका बिच शुक्रबार नेपाल उद्यान महासंघका अध्यक्ष खेम प्रसाद लुइटेलले वन तथा वातावरणमन्त्री देवकरण प्रसाद कलवारलाई अवधारणापत्र हस्तान्तरण गरेका हुन ।
कार्यक्रममा मन्त्री कलवारले कानुनी अभावका कारण देखिएका समस्याहरू समाधान गर्न तत्काल कार्यविधि बनाइने र उद्यानलाई आन्तरिक तथा बाह्य पर्यटक गन्तव्यका रूपमा विकास गर्न महासंघसँग सहकार्य गर्ने प्रतिवद्धता जनाए । पार्कहरूको प्रवद्र्धन र विकासमा देखिने कानुनी जटिलता हटाउन कानुनी पाटाबाट समाधान खोजिने उनले बताए ।
कार्यक्रममा लुम्बिनी प्रदेश मुख्यमन्त्रीका जनसम्पर्क सल्लाहकार डा. राम बहादुर राउतले उद्यान संचालन सम्बन्धि नीतिनिर्माण (कार्यविधि) को आवश्यकताको बारेमा प्रकाश पारे । कार्यक्रममा वन तथा वातावरण मन्त्रालयका सचिव प्रमोद भट्टराईले उद्यान/पार्क व्यवस्थापनका लागि कानुनमा भएका व्यवस्था तथा ऐन संसोधनका लागि उठेका विषयहरुको बारेमा प्रष्ट जानकारी दिए ।
अवधारणापत्र तैयारी कार्यदलका सदस्य अनन्तराज सिलवालले सामुदायिक वन भित्रका पार्कबाट पर्यापर्यटनमा टेवा पुगेको तथा केही प्राविधिक समस्याहरु समाधानमा सरकारको ध्यान दिनेपर्ने विषय कार्यपत्रमा उल्लेख गरेको बताए ।
कार्यक्रममा नेपाल उद्यान महासंघका अध्यक्ष खेम प्रसाद लुइटेलले उद्यान सञ्चालन र व्यवस्थापनका लागि स्पष्ट कानुन र कार्यविधि नहुनु, बजेट र स्रोत साधनको कमी, पर्यटन प्रवद्र्धनका लागि आवश्यक पूर्वाधार अभाव, उद्यानको दीर्घकालीन संरक्षण योजनामा कमी रहेको भन्दै यो समाधानमा सरकारबाट आवश्यक पहल गर्नुपर्ने बताए ।