Butwal Today

पशुपति आर्यघाटमा जलाउन लागिएको शवबाट हड्डी निकालेको आरोप, २ जना पक्राउ

२५ श्रावण २०८२, आइतबार
अ+
अ-

काठमाडौँ ।

पशुपति आर्यघाटमा अन्त्येष्टि गर्न लागिएको शवबाट हड्डी निकालेको आरोपमा दुई जना पक्राउ परेका छन् । उनीहरू दुवै जना आर्यघाटमै शव जलाउने काममा संलग्न थिए ।

मृतकका आफन्तले दिएको जाहेरीको आधारमा शुक्रबार नै प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी कुलदीप चन्दका अनुसार पक्राउ परेकाहरूमाथि हाल सोधपुछ तथा अनुसन्धान भइरहेको छ ।

“उनीहरूले त्यसरी हड्डी निकालेका हुन् कि होइनन्? हो भने कहाँ, कसलाई बेच्ने गरेका हुन्? यी सबै विषयमा अनुसन्धान भइरहेको छ,” चन्दले बताए, “अहिले नै यिनीहरूले यस्तो काम गरे भन्ने ठोस निष्कर्षमा पुगिएको छैन ।”

प्रहरीका अनुसार यस घटनाले शव व्यवस्थापनमा कार्यरतहरूप्रति उठ्न थालेको अविश्वास र आर्यघाटको निगरानी प्रणालीबारे प्रश्न खडा गरिदिएको छ । घटना पुष्टि भएमा यो संवेदनशील धार्मिक स्थलमा गरिएको आपराधिक कार्यको रूपमा लिइनेछ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ र आवश्यक परे थप व्यक्ति पक्राउ पर्ने सम्भावना पनि रहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?