Butwal Today

उत्तराखण्ड बाढीमा बेपत्ता नेपालीको खोजीमा परराष्ट्रमन्त्री आरजु राणाको निर्देशन

२३ श्रावण २०८२, शुक्रबार
अ+
अ-

काठमाडौँ, २३ साउन ।

परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारतको उत्तराखण्डमा बाढी–पहिरोका कारण बेपत्ता भएका नेपाली नागरिकहरूको खोजी तथा उद्धारका लागि नयाँ दिल्लीस्थित नेपाली राजदूतावासलाई तत्काल कदम चाल्न निर्देशन दिएकी छिन्।

उनले भारत सरकारसँग समन्वय गरेर बेपत्ता नेपालीहरूको यथासिघ्र उद्धारमा लाग्न आग्रह गर्दै नेपाल सरकारले कूटनीतिक पहल थालिसकेको जानकारी दिइन्। “छिमेकी राष्ट्र भारतको उत्तराखण्डमा केही दिनअघिको बाढीमा परी केही नेपाली नागरिक पनि बेपत्ता भएको खबरले निकै दुःख लागेको छ,” मन्त्री राणाले भनिन्, “उहाँहरूको खोजी र उद्धारका लागि नेपाल सरकारले कूटनीतिक पहल सुरु गरिसकेको छ।”

उनले बाढी–पहिरोमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडित परिवारप्रति समवेदना व्यक्त गरेकी छिन्।

मंगलबार दिउँसो भारतीय प्रदेश उत्तराखण्डको उत्तरकाशी जिल्लास्थित हर्सिलनजिकैको धराली क्षेत्रमा आएको बाढी–पहिरोमा परी ५० जनाभन्दा बढी व्यक्ति बेपत्ता भएका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार अहिलेसम्म ५ जनाको मृत्यु पुष्टि भइसकेको छ।

बेपत्ता हुनेमध्ये २० भन्दा बढी नेपाली रहेको जनाइएको छ। जाजरकोट, बर्दिया, जुम्ला, रुकुम र धादिङ जिल्लाका कम्तीमा २२ नेपाली नागरिकहरू बेपत्ता भएको स्थानीय तह र प्रशासनले पुष्टि गरेका छन्। यस घटनाले नेपाल सरकार र भारतबीच आपसी समन्वयका माध्यमबाट विपद् व्यवस्थापनमा सहयोगको आवश्यकता झनै देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?