Butwal Today

रोटरी क्लब अफ वीरगञ्ज र रोटरी क्लब अफ बुटवल चौतारीको मानवतावादी पहल

२३ श्रावण २०८२, शुक्रबार
अ+
अ-

बुटवल, २३ साउन ।

मानव सेवाप्रतिको साझा प्रतिबद्धतासहित रोटरी क्लब अफ वीरगञ्ज र रोटरी क्लब अफ बुटवल चौतारीले एक अर्थपूर्ण सहकार्य गर्दै आवश्यकतामा परेका एक व्यक्तिलाई जीवनमा पुनः आत्मनिर्भरता दिलाउने काम गरेका छन् । संयुक्त पहलमार्फत अर्घाखाँची जिल्ला, सितगंगा–६ निवासी ४४ वर्षीय गोकर्ण बहादुर भाटलाई कृत्रिम खुट्टा प्रदान गरिएको हो । सितगंगा–६ मा यसअघि पनि रोटरी क्लव अफ बुटवल चौतारीले वडा कार्यालयलाई एम्बुलेन्स प्रदान गरेको क्लवका निवर्तमान अध्यक्ष नुमेन्द्र पौडेलले जानकारी दिए ।

यो सहयोगपछि भाटले अब पुनः आफ्नो पैतालामा उभिएर जीवनका कामकाज गर्न सक्ने, आत्मसम्मानका साथ समाजमा रम्न सक्ने र नयाँ अवसरको खोजी गर्न सक्ने अवस्था पाएका छन् । चल्ने क्षमतासँगै आत्मबल र आत्मविश्वास फिर्ता पाउनु उनको जीवनको ठूलो उपलब्धि भएको परिवारले बताएका छन् ।

कार्यक्रममा बोल्दै आयोजक प्रतिनिधिहरूले यो कार्य केवल एक जनालाई खुट्टा प्रदान गर्ने मात्र नभई, उनको सम्पूर्ण जीवनको गति परिवर्तन गर्ने कदम भएको बताएका छन् । “जब हामी करुणा, समर्पण र साझा उद्देश्यका साथ अघि बढ्छौं, तब हामी समाजमा वास्तविक परिवर्तन ल्याउन सक्छौं,” रोटरी प्रतिनिधिहरूको भनाइ थियो ।

यस पहललाई सफल बनाउन वीरगञ्जको सम्पूर्ण रोटरी परिवारले देखाएको सक्रियता र उदार मनको उच्च प्रशंसा गरिएको छ । विशेषगरी डा. सास्वतको व्यक्तिगत पहल, समर्पण र सहयोगलाई दुवै क्लबले कृतज्ञतापूर्वक स्मरण गरेका छन् ।

रोटरी क्लब अफ बुटवल चौतारीका पदाधिकारीहरूका अनुसार यस्ता कार्यक्रमले केवल लाभान्वित व्यक्तिलाई मात्र नभई सम्पूर्ण समाजलाई सहानुभूति, सहयोग र एकताको सन्देश दिन्छन् । “हामी सँगै मिलेर जीवन परिवर्तन गर्दैछौं—एक कदममा एक जीवन,” उनीहरूले भने ।

रोटरी क्लब अफ वीरगञ्ज र बुटवल चौतारी दुवै क्लब विगतदेखि नै शिक्षा, स्वास्थ्य, दैवी विपत्ति राहत, स्वच्छता र रोजगारी अभिवृद्धि जस्ता क्षेत्रमा सेवा गर्दै आएका छन् । यी क्लबहरूको सहकार्यमा सम्पन्न यो मानवतावादी परियोजना दुवै संस्थाको सामाजिक दायित्वप्रतिको गहिरो प्रतिबद्धताको प्रमाण हो ।

गोकर्ण बहादुर भाटको जीवनमा आएको यो परिवर्तन केवल उनको व्यक्तिगत खुशी मात्र होइन, यो उदाहरण हो—जब समाजका सचेत र दयालु हातहरू मिल्छन्, तब कसैको जीवनलाई नयाँ दिशातर्फ मोड्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?