© २०२३
दाङ, १८ मङ्सिर ।
रोल्पा जिल्ला माडी गाउँपालिका –५ बाङका खड्गसिंह बुढामगर सुन्तला बिक्रीका लागि दाङको घोराहीमा आइपुगेका छन् । रोल्पाका किसानले उत्पादन गरेको ५५ सय क्वीन्टल सुन्तला खरिद गरेर बजारको खोजीमा दाङ आइपुगेका हुन् । रोल्पामा भनेजति मूल्य नपाएपछि महङ्गोमा बिक्री गर्नका लागि दाङ आउनु परेको उनले बताए । घोराहीको जिल्ला समन्वय समिति अगाडिको सडकमा मासिक ८ हजार रुपैयाँ दिने शर्तमा कोठा भाडामा लिएर सुन्तला संकलन र बिक्री केन्द्र बनाएका छन् ।
उनले ४ सय ५० सुन्तलाको बिरुवा रोपेको र २ सय बिरुवामा फल लागेको बताए । “गत वर्ष सुन्तलामा फल लाग्दा असिना पानी परेकोले फल राम्रो लागेको थिएन यसपाली रोल्पाको सुन्तला राम्रो फलेको छ”–उनले भने । उता बजार नपाउँदा दाङ आउनु परेको उनको भनाई छ । यसपालि सुन्तला राम्रो भएको छ । घरमा उत्पादन भएको सुन्तला बजारमा बिक्री गर्दा गाउँघरको पनि ल्याएको उनले बताए । “गतबर्ष ८ लाखको सुन्तला बिक्री गरेको हो । यसपालि त दुइ तीन लाख हुने अनुमान गरेको छु”–उनले भने ।
रोल्पामा उत्पादन भएको सुन्तला भण्डारण गर्ने स्थानको अभाव भएका कारण लामो समयसम्म राख्न नसकिने उनको भनाई छ । “व्यापारीले भनेको मूल्यमा बिक्री गर्नु पर्ने बाध्यता रहेको छ”– उनले भने– “स्थानीय स्तरमा राम्रो व्यवस्थित कोल्डस्टोर संचालन गर्न सकेमा स्थानीय रुपमा उत्पादन भएका सामग्री लामो समय राख्न सकिने थियो ।” सिजनमा फलेको सुन्तला स्टोर गर्न सकियो भने बेसिजनम महङ्गोमा बिक्री हुने थियो र आम्दानी धेरै हुने उनको भनाइ छ ।
घोराहीका व्यापारीलाई थोक र फुटकरमा सुन्तला बिक्री गर्ने गरेको उनले बताए । थोकमा चार सय रुपैयाँको लम्वरी र खुद्रामा ८० रुपैयाँ किलोमा बिक्री गरेको उनले बताए । रोल्पामा सुन्तला पकेट क्षेत्र घोषणा गरेर किसानलाई व्यावसायिक सुन्ताला खेतीतर्फ आकर्षित गरिएको भए पनि बजारीकरणमा पनि ध्यान दिन सकेमा अझ राम्रो हुने उनको भनाई छ । स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न र स्वदेशमै रोजगारी सृजना गर्नका लागि स्थानीय, प्रदेश र संघीय सरकारले बिशेष पहल गर्नुपर्ने उनको भनाइ रहेको छ ।