Butwal Today

सोलार र ब्याट्री सक्षम भए हाइड्रोको पछि लाग्न आवश्यक छैन : शाक्य

२० श्रावण २०८२, मंगलवार
अ+
अ-

काठमाडौँ, २० साउन ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सोलार, ब्याट्रीले विद्युत् आवश्यकता पूरा गर्न सके विद्युत् प्राधिकरण हाइड्रोको पछाडि लाग्न जरुरी नरहेको स्पष्ट पारेका छन् ।

उनकाअनुसार राति र दिउँसोको बिजुलीको डिमाण्ड सोलार ब्याट्रीले धान्नसक्ने स्थिति भयो भने धेरै खर्च गरेर हाइड्रो बनाइरहनुपर्ने बाध्यता हट्नेछ।

राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै शाक्यले सिँचाइ हुने क्षेत्रहरूमा विद्युत् चोरीको समस्या अझै पनि विद्यमान रहेको बताए। उनले त्यसको समाधानका लागि सोलार पम्प स्थापना गरी मिटर प्रणाली लागू गर्नुपर्ने बताए। तराई, पहाडतिर सिँचाइमा सोलर जोडिनुपर्ने उनको भनाई छ ।

प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले देशभरका धेरै पालिकाहरूका सडक पोलमा विद्युत प्राधिकरणले बत्ति राख्दिने गरेता पनि पालिकाहरूले धेरै वर्षसम्म पनि विद्युत बक्यौता नतिर्ने गरेको बताए। उनकाअनुसार बजेटमा नगरहरूले बक्यौता व्यवस्था गर्ने गरेका छैनन्। अब पालिकाहरूले सोलार बत्ती जडान गरेर बिजुली उत्पादन गर्नुपर्छ।

शाक्यका अनुसार स्थानीय तहले उत्पादन गरेको बिजुली प्राधिकरणले खरिद गर्नेछ।

साथै, उनले प्रशारण लाइन नजिकका जग्गामा सोलार प्रणाली जडान गरेर त्यसको अधिकतम उपयोग गर्ने रणनीति प्राधिकरणले अघि सारेको बताए।

यसै सन्दर्भमा पाइलट परियोजनाको रूपमा खिम्ती क्षेत्रमा सोलार आयोजना प्रारम्भ भइसकेको जानकारी पनि उनले दिएका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?