Butwal Today

वडामा पण्डित उत्पादन गर्न वैदिक कक्षा वडाले नि:शुल्क सञ्चालन गर्ने

१९ श्रावण २०८२, सोमबार
अ+
अ-

अर्घाखाँची, १९ साउन ।

अर्घाखाँचीको पाणिनि गाउँपालिका वडा नं. ६ कार्यालयले एक महिनाको वैदिक कक्षा सञ्चालनका लागि आवेदन आह्वान गरेको छ। संस्कृतको प्रारम्भिक शिक्षा सिकाई वडाबाट नै पण्डित उत्पादन गर्ने वडाको लक्ष्य हो ।

गाउँमा पण्डितको अभाव हुँदै जाँदा वडामा रहेका युवाहरूलाई धर्म सिकाउन लागिएको हो ।

पाणिनी गाउँपालिकाको आ.व. २०८१/८२ को वार्षिक स्वीकृत बजेट तथा कार्यक्रम अन्तर्गत वडामा वैदिक कक्षा सञ्चालन गर्न लागिएको हो।  इच्छुक वडावासी नागरिकहरूले निर्धारित समयभित्र आवश्यक कागजातसहित आवेदन दिन वडाले सूचित गरेको छ।

स्थानीय संस्कृतिको जगेर्ना र वैदिक शिक्षाको प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम ल्याइएको वडा अध्यक्ष कृष्णप्रसाद पौडेलले बताए।

वैदिक कक्षा हिन्दुहरूको सनातन परम्परा, धर्म, संस्कृति र ज्ञानको संरक्षण तथा प्रवर्द्धनमा अत्यन्तै महत्त्वपूर्ण भूमिका खेल्ने शिक्षात्मक अभ्यास भएकाले गाउँमा रहेका युवाहरूलाई वेद, संस्कृत भाषा, धर्मशास्त्र, नीति शास्त्र, योग, ध्यान, पूजा पद्धति, संस्कारहरू आदि विषयमा ज्ञान प्राप्त गराउने वडा कार्यालयले जनाएको छ ।

प्रकाशित सूचनामा उल्लेख भएअनुसार, इच्छुक आवेदकले आफ्नो व्यक्तिगत विवरण, नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्रसहित ७ दिनभित्र वडा कार्यालयमा आवेदन दिनुपर्नेछ।

योग्य र रुचि भएका स्थानीय वासीलाई अवसर प्रदान गर्न सार्वजनिक रूपमा यो सूचना जारी गरिएको वडा सचिव मोहन महतराले जानकारी गराए ।  यो कार्यक्रम अर्घाखाँचीमै पहिलो पटक सञ्चालन गर्न लागिएको हो ।