काठमाडौं, १५ साउन ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का निर्वाचित केन्द्रीय सदस्य किशोर बहादुर कार्कीले पार्टी परित्याग गरेका छन्। लामो समयदेखि पार्टीमा विभिन्न जिम्मेवारी सम्हाल्दै आएका कार्कीले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै वर्तमान नेतृत्वप्रति कडा असन्तोष व्यक्त गर्दै पार्टीबाट अलग हुने घोषणा गरेका हुन्।

विज्ञप्तिमा उनले राप्रपामा समर्पित र पुराना कार्यकर्तामाथि हेपाहा प्रवृत्ति बढ्दै गएको, गुटबन्दी र भागबन्डा प्राथमिकतामा परेको, तथा चाकडी र चाप्लुसीको आधारमा जिम्मेवारी बाँडफाँट गरिएको गम्भीर आरोप लगाएका छन्।
पार्टी अध्यक्षप्रति लक्षित आलोचनामा उनले विमति राख्ने कार्यकर्तालाई निष्कासन गर्ने र जथाभावी ढंगले निर्णय लिने प्रवृत्तिले पार्टीमा सुधारको सम्भावना नै समाप्त भएको बताएका छन्।
कार्कीका अनुसार, उनले सूर्यबहादुर थापा, लोकेन्द्र बहादुर चन्द, पशुपति शम्शेर राणा, कमल थापा र डा. प्रकाश चन्द्र लोहनीजस्ता नेताहरूसँग विभिन्न भूमिकामा रहेर पार्टीको सेवा गरेका थिए। तर वर्तमान नेतृत्वले विधि, विधान र संगठनात्मक मर्यादालाई बेवास्ता गर्दै पार्टीलाई स्वेच्छाचारी रूपमा सञ्चालन गरिरहेको उनले आरोप लगाएका छन्।
उनको भनाइमा, विचारभन्दा पनि पद, भागबन्डा, सेटिङ र साँठगाँठलाई प्राथमिकता दिइँदै आएको छ, जसले संगठनको आत्मा मरेको महसुस गराएको छ। अयोग्य र नवप्रवेशीलाई शीर्ष तहमा पुर्याउने तथा चुनाव चिन्ह बारम्बार परिवर्तन गर्ने कार्यले कार्यकर्ता र समर्थकहरूमा गहिरो निराशा थपिएको पनि उनले उल्लेख गरेका छन्।
पार्टीको साधारण सदस्यता समेत परित्याग गर्दै कार्कीले आफू अब कुनै दल वा गुटसँग आबद्ध नरहने र स्वतन्त्र रूपमा जनता तथा राष्ट्रको सेवामा लाग्ने बताएका छन्। भविष्यमा सत्य, निष्ठा र राष्ट्र निर्माणमा समर्पित हुनेहरूसँग साझा प्रयासमा सहकार्य गर्न तयार रहेको जनाउँदै उनले खुला ढोका राखेका छन्।
पूर्व मधेस प्रदेश संयोजक, पूर्व प्रवक्ता तथा अनुशासन समिति सदस्य सचिवजस्ता जिम्मेवारी निभाइसकेका कार्कीको यस्तो निर्णयले राप्रपाभित्रको आन्तरिक असन्तोष झनै चर्किएको संकेत मिलेको छ।



