© २०२३
काठमाडौं ।
काठमाडौंमा सिन्धुलीका युवराज पौडेल ‘सफल’ले प्रधानमन्त्री केपी शर्मा ओलीसहित १६ जनाविरुद्ध प्रहरीमा उजुरी दिएका छन्। उनले जिल्ला प्रहरी परिसर काठमाडौंमा हुलाकमार्फत उजुरी पठाएका हुन्।
पौडेलले उजुरीमा प्रधानमन्त्री ओलीसहित विभिन्न नेताहरूले पदमा रहँदा शक्तिको दुरुपयोग गरी मानव तस्करी गरेको आरोप लगाएका छन्।
उनले प्रधानमन्त्रीसहित गृहमन्त्री रमेश लेखक, पूर्वगृहमन्त्रीहरू र अन्य प्रमुख नेताहरूलाई पक्राउ गरी अनुसन्धान गर्न समेत माग गरेका छन्।
उजुरीमा उल्लेखित प्रमुख नामहरूमा उपसभामुख इन्दिरा राना, पूर्वगृहमन्त्री बामदेव गौतम, कृष्ण सिटौला, भीम रावल, विजयकुमार गच्छदार, शक्तिबहादुर बस्नेत, विमलेन्द्र निधी, बालकृष्ण खाण, रवि लामिछाने, रामबहादुर थापा, नारायणकाजी श्रेष्ठ र पूर्व श्रममन्त्री डोलप्रसाद अर्याल रहेका छन्।
यसअघि पनि पौडेलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रधानमन्त्री ओलीसहितमाथि कारबाहीको माग गर्दै उजुरी दिएका थिए।
काठमाडौँ प्रहरी परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विश्वराज अधिकारीले उजुरी आएको भएता पनि हालसम्म आधिकारिक रुपमा दर्ता नभएको बताएका छन्।