काठमाडौं, ८ साउन ।
रुसको पूर्वी क्षेत्रमा यात्रुवाहक विमान सम्पर्कविहीन भएको छ। ‘एङ्गारा एयरलाइन्स’को एएन–२४ विमान आमुर क्षेत्रको टिण्डा सहरतर्फ जाँदै गर्दा सम्पर्क टुटेको हो। यो इलाका चीनसँग सीमा जोडिएको दुर्गम क्षेत्रमा पर्छ।

सीएनएनले स्थानीय अधिकारीलाई उद्धृत गर्दै लेखेअनुसार विमानमा पाँच बालबालिकासहित ४३ जना यात्रु र ६ जना चालक दलका सदस्य सवार थिए।
तर, रुसको आपतकालीन मन्त्रालयले भने विमानमा करिब ४० जना मात्रै सवार रहेको प्रारम्भिक विवरण दिएको छ।
विमान हराएपछि खोजी कार्य तीव्र पारिएको छ। अमुर क्षेत्रका गभर्नर भासिली ओरलोभका अनुसार खोजीका लागि आवश्यक सबै सुरक्षाकर्मी, उद्धार टोली र स्रोतसाधन परिचालन गरिएको छ।
अहिलेसम्म विमानको अवस्थाबारे स्पष्ट जानकारी आएको छैन।



