Butwal Today

गाजामा भोकमरी र कुपोषणको संकट चुलिँदै, पछिल्लो २४ घण्टामा १५ जनाको मृत्यु

८ श्रावण २०८२, बिहीबार
अ+
अ-

काठमाडौं, ८ साउन ।

युद्धग्रस्त गाजा पट्टीमा विगत २४ घण्टाभित्र भोकमरी र कुपोषणका कारण चार बालबालिकासहित १५ जनाले ज्यान गुमाएका छन्। स्वास्थ्य अधिकारीहरूले गाजाभरका विभिन्न अस्पतालहरूमा यो मृत्यु रेकर्ड गरिएको बताएका छन्।

मार्च महिनादेखि अहिलेसम्म भोकमरी तथा कुपोषणसँग सम्बन्धित कारणले ज्यान गुमाउनेको संख्या १०१ पुगेको छ, जसमा ८० बालबालिका रहेका छन्। यो मानवअधिकार तथा मानवीय संकट गहिरिँदै गएको संकेत हो।

इजरायलका झन्डै ९५ प्रतिशत चिकित्सकहरूको प्रतिनिधित्व गर्ने इजरायली मेडिकल एसोसिएसनले एक विज्ञप्ति जारी गर्दै गाजा पट्टीमा अत्यावश्यक औषधोपचार सामग्री र आधारभूत मानवीय सहायता आपूर्ति गर्नुपर्ने माग गरेको छ। संगठनले चिकित्सा आपूर्तिको अभावले बालबालिकाहरूको जीवन गम्भीर जोखिममा परेको बताएको छ।

इजरायलले गत मार्च १८ देखि गाजामा पुनः सैन्य कारबाही सुरु गरेपछि कम्तीमा ८ हजार २ सय ६८ जना प्यालेस्टिनी नागरिक मारिएका छन् भने ३० हजार ४ सय ७० भन्दा बढी घाइते भएका छन्। अक्टोबर २०२३ देखि हालसम्मको समग्र तथ्याङ्क अनुसार, मृत्यु हुनेको कुल संख्या ५९ हजार १ सय ६ पुगेको छ। घाइतेहरूको संख्या १ लाख ४२ हजार ५ सय ११ रहेको गाजाका स्वास्थ्य अधिकारीहरूले जनाएका छन्।