© २०२३
पाल्पा, ०१ साउन ।
पछिल्लो समयमा हाम्रो रहन सहन, खानपानका कारणले मधुमेहका रोगीहरू बढ्दै गएका छन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार सबैभन्दा बढी १० स्थानीय तह मध्ये वगनासकाली गाउँपालिकामा देखिएको हो । कार्यालयको नियमित कार्यक्रम अनुसार १० स्थानीय तहका १३ हजार ४ सय ४७ जनाको स्वास्थ्य परीक्षणमा ७५ प्रतिशतमा सामान्य खालको, १९.७ प्रतिशतमा लक्षण देखा पर्न लागेको र ४.६ प्रतिशतमा कडा प्रकृतिको देखा परेको थियो ।
फरक–फरक उमेर समूहमा परीक्षण गर्दा कडा प्रकृतिको मधुमेह सबैभन्दा बढी वगनासकाली गाउँपालिकामा ८ प्रतिशत भेटिएको कार्यालयका क्षय, कुष्ठ शाखाका प्रमुख विश्व न्यौपानेले बताए । उनका अनुसार सबैभन्दा कम पूर्वखोला गाउँपालिकामा ३.३ प्रतिशत भेटिएको थियो । तीन भागमा वर्गीकरण गरिएको तथ्यांकमा कडा प्रकृतिको मधुमेह र रम्भा गाउँपालिकामा ७.५ माथागढीमा ६.६,रामपुरमा ६.३ रिब्दीकोटमा ४.८ रैनादेवी र तानसेन नगरमा ४.७ निस्दी र तिनाउमा ३.५ प्रतिशत कडा प्रकृतिको मधुमेह भेटियो ।
पछिल्लो समयमा सर्ने रोगहरूका विषयमा जनचेतनाको कारण न्यूनीकरण हुँदै गएको छ । भयावह रूपमा नसर्ने प्रकृतिका रोगहरू देखा परेका छन् । यसका लागि रहन सहन, खानपान जस्ता कुरामा ध्यान केन्द्रित नगरेका कारण समस्याका रूपमा देखा पर्दै गएको स्वास्थ्य कार्यालयका प्रमुख टुक प्रसाद पोखरेलले बताए । यस्ता विषयमा स्थानीय सरकार, स्वास्थ्य कार्यालयमा कार्यरत स्वास्थ्यकर्मी, स्थानीय शाखा प्रमुख अति संवेदनशील बन्न जरुरी रहेको उनले बताए ।
जिल्लामा सबै भन्दा बढी ५० वर्ष देखि ५९ वर्ष उमेर समूहमा १८९ जनामा कडा प्रकृतिको भेटियो । त्यसै गरी ६० देखि ६९ वर्ष समूहमा १६९जना, ७० देखि ७९ सम्म ९४ जना, ८० देखि ८९ उमेर समूहमा १५ जना ९० वर्ष भन्दा माथिको उमेर समूहमा १ जनामा कडा प्रकृतिको भेटिएको थियो । तिन खण्डमा वर्गीकरण गरिएकोमा १० हजार १ सय ७९ जनामा सामान्य प्रकृतिको २ हजार ६ सय ५५ जनामा लक्षण देखा परेको र ६सय १५ जनामा कडा प्रकृतिको भेटिएको थियो । मध्यम खालको मधुमेह सबै भन्दा बढी पुर्वखोलामा देखा परको कार्यालयले जनाएको छ ।
पुर्वखोलामा २६, रैनादेवी छहरामा २४.९, वगनासकालीमा २३.६ माथागढीमा २२.२, रिब्दीकोटमा २०.९ रामपुरमा १९.९ तिनाउमा १९.४ निस्दीमा १८.६ तानसेनमा १५.९ प्रतिशत भेटिएको थियो । त्यसै गरी सामान्य प्रकृतिको मधुमेह सबै भन्दा बढी तानसेन नगर भित्र भेटिएको छ। नगरमा ७९.४, पुर्वखोलामा ७९.३, निस्दीमा ७७.६,तिनाउमा ७७.१, रिब्दीकोटमा ७४.३ रामपुरनगरमा ७३.८, माथागढीमा ७१.२ प्रतिशतमा सामान्य प्रकृतिको मधुमेहको लक्षण भएका व्यक्ती भेटिएको कार्यालय प्रमुख पोखरेलले बताए ।
यस्ता प्रकृतिका रोगी तथा बिरामीको संख्या बढ्दै जानु भनेको राम्रो पक्ष होइन । खानपानमा ध्यान दिने नियमित रूपमा व्यायाम गर्नु पर्दछ । खानामा ध्यान नदिने,व्यायाम नगर्ने हुँदा यस्तो समस्या आएको उनले बताए ।