© 2026
अर्घाखाँची, ३० असार ।
ग्रामीण भेगमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट मान्यता प्राप्त पाणिनी बहु प्राविधिक शिक्षालय सञ्चालन हुँदा यहाँका बासिन्दा हर्षित भए । प्राविधिक शिक्षा गाउँमै सञ्चालन हुँदा रोजगारीको अवसरदेखि व्यापार व्यवसाय सञ्चालन हुनेमा स्थानीय हर्षित भए । प्राविधिक शिक्षालय सुरु हुँदा २०७५ सालमा ३ वर्षे सिभिल इन्जीनियरिङ्गका लागी ४४ जना विद्यार्थी भर्ना भए ।
स्थानीय अर्घाखाँची जिल्लासहित विकट मानिएको सुदूरपश्चिम क्षेत्रबाट पनि विद्यार्थी प्राविधिक धार अध्ययन गर्नका लागि पाणिनीमा आए । शिक्षालय सञ्चालन भएको ७ वर्षमा सोही धारमा अध्ययन गर्न २०८१ सालमा १५ जना विद्यार्थी मात्रै भर्ना भएको तथ्याङ्क पाणिनी बहु प्राविधिक शिक्षालयको रहेको छ ।
प्रत्येक वर्ष ग्रामीण भेगमा सञ्चालित शिक्षालयमा विद्यार्थी सङ्ख्या घट्दै गएपछि अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी गोपाल अर्यालको सक्रियतामा जनप्रतिनिधि तथा सरोकारवाला निकायले चासो राख्दै प्राविधिक अध्ययनको पढाइ विद्यार्थीहरूमा बुझाउन नसकेको स्वीकारेका छन् ।
फरक प्रसङ्गमा प्रमुख जिल्ला अधिकारी अर्यालले गुणस्तरीय शिक्षा व्यवस्थापन गरी सामुदायिक विद्यालयलाई मर्ज गरेर भए पनि चलाउनुपर्ने अवस्था आएको बताए । उनले ग्रामीण क्षेत्रका कतिपय सामुदायिक विद्यालयहरूमा निकै कम मात्र विद्यार्थी हुने गरेको भन्दै उनले त्यस्ता विद्यालय मर्ज गरेर भए पनि गुणस्तरीय र सुविधायुक्त शिक्षा दिनुपर्छ ।
चिवेकमा सञ्चालनमा आएको प्राविधिक शिक्षालयमा डिप्लोमा इन सिभिल इन्जिनियरिङ, डिप्लोमा इन फरेष्ट्री, डिप्लोमा इन जियोमेटिक्स इन्जिनियरिङ गरी तिन धारमा अध्ययन हुँदै आएको र आगामी दिनमा स्वास्थ्यतर्फ एचए अध्ययन गराउनका लागी कार्यक्रम माग गरेको शिक्षालय प्रमुख मणिप्रसाद गैरेले जानकारी दिए । अहिले शिक्षालयमा २२१ जना विद्यार्थी अध्ययनरत रहेका छन् ।
जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जीवनारायण कोइरालाले भने ‘गाउँमा प्राविधिक शिक्षा सञ्चालन गर्दा खुसीयाली छाएको स्मरण गर्दै विद्यार्थी घट्नु दुःखत पक्ष रहेको बताए ।’ प्राविधिक धारको अध्ययनलाई अब उत्पादन र उद्यमशीलतासँग जोड्न सकियो भने विद्यार्थीको रुचि पनि बढ्ने बताउँदै विद्यार्थीलाई प्राविधिक धारको महत्त्व बुझाउँनुपर्ने बताए ।
पाणिनी गाउँपालिकाका अध्यक्ष टेकराज न्यौपाने भन्छन् ‘गाउँपालिबाट १६ विद्यार्थीलाई अध्ययन गराउन छात्रवृत्ति उपलब्ध गराउँदा पनि विद्यार्थीहरूको आकर्षण प्राविधिक शिक्षामा नभएको भन्दै त्यतातर्फ केन्द्रित हुन आग्रह गरे ।
प्राविधिक शिक्षा समाजको आर्थिक तथा सामाजिक रूपान्तरणको आधार हो, पाणिनी ६ का वडा अध्यक्ष कृष्णप्रसाद पौडेल भन्छन् ‘प्राविधिक शिक्षालाई युवाहरूलाई आत्मनिर्भर बनाउने मुख्य साधन पनि हो, यसले रोजगारी सृजना, स्वरोजगार तथा उद्यमशीलता प्रवर्द्धन गर्छ ।’ पाणिनीमा सञ्चालन भएको प्राविधिक शिक्षालाई गहनाको रूपमा लिएर यसको प्रवर्द्धन गर्नु आजको आवश्यकता हो, पौडेलले भने ।’
जग्गा प्राप्त गर्दादेखि सञ्चालन गर्नसम्ममा निकै कठिनाइ भएको स्मरण गर्दै जनसेवा माविका प्रअ सालिकराम बेल्वासेले पाणिनीका १६ वटै माध्यमिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीलाई प्राविधिक विषयको महत्त्व जानकारी गराउन सकेका पाणिनीमा एउटा प्राविधिक शिक्षालय सञ्चालन गर्नमा कठिनाइ नहुने बताए । नजिकको तिर्थ हेला भएर विद्यार्थीले नजिकमा अध्ययन गर्न’ नखोजेका कारण अभिभावक मार्फत विद्यार्थीलाई सचेत गराउनुपर्ने पाणिनी गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष गुनाखर अधिकारीले बताए ।
शैक्षिक अन्तर्क्रिया तथा छलफल कार्यक्रममा पाणिनी गाउँपालिका उपाध्यक्ष नर्मदा पौडेल, प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपाने, वडा अध्यक्षहरू हरिप्रसाद घिमिरे, इन्द्रमणि घिमिरे, रोमबहादुर पाण्डे, शिक्षा शाखा प्रमुख तेजबहादुर खनाल, शिवमदन माविका प्रअ राजेन्द्र पौडेल, पत्रकार महासङ्घका सहसचिव घनश्याम पौडेल लगायतले धारणा राख्दै अर्घाखाँचीको गहनाको रूपमा पाणिनी बहु प्राविधिक शिक्षालयलाई सञ्चालन गर्नुपर्नेमा जोड दिएका हुन्